क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिन बलर ललित राजवंशी मातृशोकमा परेका छन् । उनकी आमा शुभकुमारी राजवंशीको निधन भएको हो ।

विराटनगर महानगरपालिका–१४, जतुवास्थित आफ्नै निवासमा ६० वर्षीया शुभकुमारीको आइतबार बिहान निधन भएको हो । शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन् । नियमित उपचारका साथै उनी घरायसी काममा पनि सक्रिय रहँदै आएकी थिइन् ।

शनिबार राति खाना र औषधि सेवन गरी सुत्न गएकी शुभकुमारी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

शुभकुमारीको अन्त्येष्टि आइतबार नै स्थानीय सिंघिया खोलामा गरिएको पारिवारिक स्रोतले जनायो । आमाको निधनको खबर पाएलगत्तै ललित राजवंशी पनि विराटनगर गएका थिए ।

ललित राजवंशी हाल नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन् । आमाको असामयिक निधनले उनलाई स्तब्ध बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री