काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् कम्पनीको पुँजी वृद्धि भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय निर्णयबाट कम्पनी निर्णय अनुसार अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको हो ।
सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण समेत भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयको निर्णयसँगै यो कम्पनी पब्लिक लिमिटेड बनेको हो ।
हाल उक्त कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।
नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने ब्यबसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको छ । यस कम्पनीले विगत तीन बर्ष देखि लगातार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् । ऐनको मस्यौदा तयार भइसकेको भएता पनि पुँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ ।
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्वौको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको ‘क’, ‘ख’, ‘ग’, ‘घ’ वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ ।
यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि पुँजी एक अर्बसम्म पुर्याउन सक्नेगरी अधिकृत पुँजी कायम गरिएको हो । साथै निकट भविष्यकै कम्पनी आईपीओमा जाने तयारी समेत गरेको छ । यसका लागि ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याउने व्यवस्था गरिएको छ ।




