सिटिजन्स बैंकको संचालन आम्दानी १५ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकका अनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ११.२० प्रतिशतले र फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशतले वृद्धि भए पनि खराब कर्जा वृद्धि र इम्पेरमेन्ट चार्ज उच्च हुँदा नाफामा दबाब परेको हो। खराब कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। यससँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको कुल सञ्चालन आम्दानी १५.१३ प्रतिशतले बढेर १० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, तर सञ्चालन मुनाफा भने २.३२ प्रतिशतले घटेर ३ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। नाफामा आएको गिरावटसँगै प्रतिशेयर आम्दानी (EPS) १९ पैसाले घटेर ८ रुपैयाँ ७६ पैसा मात्र भएको छ। असार मसान्तसम्म बैंकको मूल्य–आम्दानी अनुपात (P/E ratio) २६.०६ गुणा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ।

सो अवधिसम्म बैंकले ७७ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ, जसअनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकका अनुसार चुनौतीपूर्ण आर्थिक परिवेशका बाबजुद वित्तीय स्थायित्व कायम राख्दै आगामी त्रैमासमा नाफा सुधार गर्ने लक्ष्य लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री