खनाल-गौतमको ४ घण्टे गोप्य वार्ताले एकीकृत समाजवादीमा भूकम्प: अध्यक्ष नेपालले एकाएक गरे सबै बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र चुलिएको शक्ति संघर्षले नाटकीय मोड लिएको छ । सम्मानित नेता झलनाथ खनाल र तेस्रो वरीयताका नेता वामदेव गौतमबीच शनिबार भएको लामो भेटवार्तापछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका पूर्वनिर्धारित सबै बैठकहरू एकाएक स्थगित गरेका हुन् ।

पार्टी विभाजनको औचित्यमाथि नै प्रश्न उठाएर चर्चामा रहेका नेता खनाललाई भेट्न गौतम उनको निवास डल्लु पुगेका थिए । दुई नेताबीच झन्डै चार घण्टा लामो गोप्य वार्ता भएपछि अध्यक्ष नेपालले आफूविरुद्ध घेराबन्दी भएको महसुस गरेका थिए । यही आशंकाका बीच उनले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न निर्देशन दिए पनि राति अबेर मात्रै केन्द्रीय सदस्यहरूलाई ह्वाट्सएपमार्फत सूचना पठाइएको थियो ।

यसअघि भदौ ४ गते स्थायी कमिटी, ५ गते पोलिटब्युरो र ७-८ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो । तर, शनिबार राति ९ बजे पठाइएको सूचनामा सबै बैठक २० दिन पछि अर्थात भदौ २७-२८ का लागि सारिएको उल्लेख छ । बैठक स्थगित गर्ने निर्णय र अपारदर्शी तरिकाप्रति पार्टीभित्रैबाट तीव्र असन्तुष्टि र आक्रोश व्यक्त भएको छ । केन्द्रीय सदस्य अम्बिका राईले पार्टीको ह्वाट्सएप ग्रुपमा प्रतिक्रिया दिँदै भनिन्, ‘यो कस्तो खेलाँची हो, बिहान ७(८ गते भन्ने, बेलुकी २७–२८ !’

पोलिटब्युरो सदस्य केशव विष्टले पनि नेतृत्वको अपरिपक्वता झल्किएको टिप्पणी गरे । उनले लेखे, ‘अपरिपक्वता देखिन्छ, चाडपर्व परे/नपरेको त हिजोको सूचना निकाल्दै हेर्नुपर्छ ।’ झलनाथका स्वकीय सचिव कृष्ण भट्टराईले समेत यसलाई ‘अपरिपक्व निर्णय’ भनेका छन् । स्थायी कमिटी सदस्य परमानन्द भट्टले त शीर्ष नेताहरूबीच मेलमिलाप नभएसम्म बैठक राख्नुको अर्थ नहुने भन्दै नेतृत्वको गम्भीर विवादलाई संकेत गरेका छन् ।

पछिल्लो समय अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच तीव्र ‘वाकयुद्ध’ चलिरहेको छ । उनीहरू सार्वजनिक रूपमै एकअर्कालाई कडा आरोप लगाउँदै पार्टी छाडेर जानसमेत भन्ने अवस्थामा पुगेका छन् । यही पृष्ठभूमिमा भएको खनाल-गौतम भेट र त्यसलगत्तै बैठक स्थगनले एकीकृत समाजवादीभित्रको संकट थप गहिरिएको बताइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री