बडिमालिका तीर्थयात्रामा दुःखद घटना: भीरबाट लडेर पूर्व शिक्षामन्त्रीका छोराको मृत्यु

बाजुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिकाको दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोराको मृत्यु भएको छ । काठमाडौँ, गोकर्णेश्वर-५ निवासी ५२ वर्षीय विप्लव ओझाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख डीएसपी ईकवाल हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झरिसकेपछि ओझा भीरबाट चिप्लिएर करिब ७०० मिटर तल खोँचमा खसेका थिए । प्रहरीलाई बिहान साढे ८ बजे घटनाबारे जानकारी प्राप्त भएको र हाल प्रहरी टोली घटनास्थलमा शव निकाल्ने प्रयासमा जुटिरहेको उनले बताए ।

प्रहरीले ओझा राति नै मन्दिरबाट फर्किएको हुन सक्ने र अँध्यारोमा बाटो ठम्याउन नसक्दा दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । उच्च हिमाली र कठिन भौगोलिक क्षेत्रमा रात्रिकालीन यात्रा अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

आज (साउन २३ गते) बडिमालिकामा मुख्य पूजा लाग्ने दिन हो । यही अवसरमा पूजा तथा दर्शनका लागि उनी बडिमालिका पुगेका थिए । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठका रूपमा रहेको बडिमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्दछ, जहाँ देशभरबाट हजारौं तीर्थयात्री पुग्ने गर्दछन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री