सत्ताको शक्तिशाली गठबन्धनलाई रास्वपाको धक्का, चन्द्रपुरदेखि तिलोत्तमासम्म शानदार जित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश र लुम्बिनी प्रदेशका दुई महत्त्वपूर्ण स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूको शक्तिशाली गठबन्धनलाई पराजित गर्दै सफलता हासिल गरेको छ । रास्वपाले रौतहटको चन्द्रपुर उद्योग वाणिज्य संघ र रुपन्देहीको तिलोत्तमास्थित एक टोल विकास संस्थामा शानदार जित हासिल गरेको हो ।

यो जितले नयाँ दलप्रतिको आकर्षण र परम्परागत राजनीतिक शक्तिप्रतिको वितृष्णा स्थानीय तहसम्मै पुगेको स्पष्ट संकेत गरेको छ । रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाका उम्मेदवार उदयनारायण सापकोटा (सुरेन) ले कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नेपाल सम्मिलित पाँचदलीय गठबन्धनलाई दोब्बरभन्दा बढीको फराकिलो मतान्तरले पराजित गरेका छन् । 

बुधबार सम्पन्न निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुनीलकुमार साहले २६९ मतमा चित्त बुझाए । रास्वपाका नगर सभापतिसमेत रहेका सापकोटा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ‘मैले अघिल्लो कार्यकालमा गरेको काम र पार्टी (रास्वपा) प्रतिको जनविश्वासका कारण यो जित सम्भव भएको हो,’ नवनिर्वाचित अध्यक्ष सापकोटाले भने, ‘पाँच दल एक ठाउँमा उभिँदा पनि व्यवसायी साथीहरूले मलाई विश्वास गर्नुभयो ।’

संघका सदस्यहरू भने विभिन्न दलको भागबण्डामा निर्विरोध चयन भएका थिए । तर, निर्वाचन परिणामपछि माओवादी कोटाबाट सदस्य बनेकी रेखा गुप्ताले सामाजिक सञ्जालमार्फत पदमा नबस्ने घोषणा गरेकी छन् ।

‘हेभिवेट’ नेताहरूको वडा तिलोत्तमामा पनि रास्वपाको जित
चन्द्रपुरको यो जित रास्वपाका लागि गठबन्धनविरुद्धको पहिलो सफलता भने होइन । यसअघि असार अन्तिम साता रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थामा पनि रास्वपाले सत्तारुढ कांग्रेस-एमाले गठबन्धनलाई पराजित गरेको थियो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, जिल्ला सभापति एवं नगर प्रमुख रामकृष्ण खाण तथा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे जस्ता ‘हेभिवेट’ नेताहरूको गृह वडामा रास्वपाका रमाकान्त भुसाल १२४ मतसहित अध्यक्षमा विजयी भएका थिए । गठबन्धनका उम्मेदवार एमालेका कृष्ण चापागाईंले १०० मत मात्र पाए । १५ सदस्यीय कार्यसमितिमा रास्वपा प्यानलले पदाधिकारीसहित ८ सिटमा जित निकालेको थियो ।

यी दुई निर्वाचन परिणामले के देखाउँछ भने, राष्ट्रिय राजनीतिमा देखिने गठबन्धनको अंकगणितलाई स्थानीय स्तरका मतदाता र सरोकारवालाहरूले सधैं स्वीकार गर्दैनन् । विशेषगरी व्यावसायिक संघ-संस्था र टोल विकास जस्ता नागरिक तहका निकायहरूमा नयाँ शक्तिका उम्मेदवारले स्थापित दलहरूको संयुक्त शक्तिलाई समेत चुनौती दिन थालेको यो एक बलियो प्रमाण हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री