बागमतीमा सत्ता समीकरणको नयाँ अध्याय : इन्द्र बानियाँ छैटौं मुख्यमन्त्री, आजै शपथ र मन्त्रिपरिषद् विस्तार

काठमाडौं । बागमती प्रदेशले आज आफ्नो छैटौं मुख्यमन्त्री पाउँदैछ । प्रदेशको सत्ता राजनीतिमा भएको फेरबदलपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्तर्गत बानियाँले सोमबार नै ६४ जना सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो २ बजेपछि बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्ने र अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार दिउँसो २ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोही समयसीमाभित्र बानियाँले ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन जुटाएर दाबी पेश गरेका हुन्, जुन सरकार गठनका लागि आवश्यक ५६ मतभन्दा बढी हो ।

यो सत्ता परिवर्तनको पृष्ठभूमि कांग्रेसभित्रकै आन्तरिक समीकरणमा भएको फेरबदल हो । ९ साउन २०८१ मा गठन भएको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व गरिरहेका लामाले आफ्नै दलभित्रको अविश्वासको सामना गर्नुपरेको थियो । १३ साउनमा दलभित्र भएको मतविभाजनमा अल्पमतमा परेपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । त्यसको भोलिपल्टै, १४ साउनमा भएको निर्वाचनमा बानियाँले लामालाई पराजित गर्दै दलको नेता चयन भएका थिए, जसले उनलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिएको हो ।

८ महिनाको कार्यकाल
एक वर्षअघि सरकार गठन हुँदा कांग्रेस र एमालेबीच २०-२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार, अब बानियाँले करिब ८ महिना सरकारको नेतृत्व गर्नेछन् र आगामी फागुनमा एमालेलाई सत्ता हस्तान्तरण गर्नेछन् ।

मुख्यमन्त्री बानियाँले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शपथ ग्रहण लगत्तै उनले कांग्रेस र सत्ता साझेदार एमालेबाट केही मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री