काठमाडौं । खोटाङको हलेसी मन्दिर दर्शन गरी सिराहातर्फ फर्किरहेका तीर्थयात्री सवार एक माइक्रोबस सोमबार मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौँठेखोला नजिकै प्रदेश २-०१-००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सिराहाको नराह गाउँपालिका-५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी घाइते हुनेहरूमा अधिकांश सिराहा र धनुषाका बासिन्दा छन् । घाइते हुनेहरूमा नराह गाउँपालिकाकै ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा र उनका पति ३२ वर्षीय नदिन शर्मा रहेका छन् । त्यसैगरी, नराह-२ का ५७ वर्षीय धनेश्वर यादव तथा धनुषाको सबैला नगरपालिका-४ का ७९ वर्षीय दुर्योधन यादव र झालुदेवी यादव पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टका अनुसार, गम्भीर घाइते सबैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइतेहरूको भने उदयपुरको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
दुर्घटनापछि माइक्रोबसका चालक, सिराहा नगरपालिका-३ का २८ वर्षीय रामनाथ साह भने फरार रहेका छन् । उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । माइक्रोबसमा चालकसहित कुल १६ जना सवार रहेको खुलेको छ ।




