संस्थापक सेयरलाई फरक ISIN दिने प्रस्तावप्रति एनआरएनएको गम्भीर आपत्ति, पुनर्विचार गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थापक र सर्वसाधारणको सेयरलाई फरक-फरक अन्तर्राष्ट्रिय पहिचान नम्बर (ISIN) दिने प्रस्तावले नेपालको पूँजी बजारमा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै गम्भीर आपत्ति जनाएको छ। संघले यस्तो व्यवस्थाले विदेशमा रहेका नेपालीको लगानीलाई निरुत्साहित गर्ने चेतावनी दिँदै उक्त प्रस्ताव तत्काल पुनर्विचार गर्न नियामक निकायसमक्ष माग गरेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरिएको उक्त प्रस्तावमा सार्वजनिक निष्कासनमा जाने कम्पनीहरूको संस्थापक र सर्वसाधारण समूहको सेयरलाई अभौतिकीकरण गर्दा फरक-फरक ISIN दिने व्यवस्था गर्न सुझाइएको छ।

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै यो प्रस्तावले विदेशमा रहेका संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलाउने, सेयर कारोबारमा अन्योल सिर्जना गर्ने तथा पूँजी बजारको पारदर्शिता र स्थायित्वमाथि नै प्रतिकूल प्रभाव पार्ने औंल्याएको छ। “गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता र कानुनी स्पष्टताको अपेक्षा गर्छन्,” विज्ञप्तिमा भनिएको छ, “यस्तो प्रस्तावले लगानीमैत्री वातावरणलाई कमजोर बनाउने खतरा छ।”

संघले स्थापनाकालदेखि नै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालको ऊर्जा, पूर्वाधार, पर्यटन र वित्तीय क्षेत्रमा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ। तर, प्रस्तावित निर्देशनले यस्तो लगानीलाई हतोत्साहित गर्न सक्ने चेतावनी दिएको छ।

संघका अनुसार यो प्रस्ताव कार्यान्वयन भएमा संस्थापक सेयरधनीहरूलाई आफ्नो सेयर बेच्न कठिनाइ हुने, वैदेशिक लगानी फिर्ता लैजान समस्या उत्पन्न हुने र कानुनी अन्योल सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामाझ नकारात्मक सन्देश जानेछ।

यसै सन्दर्भमा, संघले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उक्त प्रस्तावमाथि पुनर्विचार गर्न, यसको समग्र असरको मूल्याङ्कन गरी सरोकारवालासँग गम्भीर छलफलबाट मात्रै सन्तुलित निर्णय लिन आग्रह गरेको छ। साथै, निजी क्षेत्र र प्रवासी नेपालीको विश्वास कायम राख्न स्पष्ट, स्थिर र लगानीमैत्री नीतिहरू अवलम्बन गर्न संघले जोडदार माग गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री