काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान चाहने नेपाली युवाहरूका लागि महत्त्वपूर्ण अवसर खुलेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सन् २०२५ को पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन तालिका सार्वजनिक गरेको हो ।
शाखाले सोमबार जारी गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिहरूले यही साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यो पहिलो चरणको परीक्षाबाट करिब ५,३०० जनालाई उत्तीर्ण गराउने लक्ष्य राखिएको छ, जसले कोरियामा रोजगारीका लागि योग्यताबमोजिम प्रतिस्पर्धा गर्न पाउनेछन्।
कुन क्षेत्रमा कति माग?
इपिएस शाखाका अनुसार, यस पटकको मागलाई दुई मुख्य क्षेत्रमा विभाजन गरिएको छ:
-
उत्पादनमूलक क्षेत्र: ३,५०० जना
-
कृषि तथा पशुपालन क्षेत्र: १,८०० जना
शाखाले कोरियाली पक्षको कामदार मागअनुसार उत्तीर्ण हुनेहरूको अन्तिम संख्यामा केही घटबढ हुन सक्ने पनि स्पष्ट पारेको छ। आवेदन दिँदा एक व्यक्तिले उत्पादनमूलक वा कृषि तथा पशुपालनमध्ये कुनै एक क्षेत्रमा मात्रै आवेदन दिन पाउने नियम तोकिएको छ।
भाषा परीक्षा पास गर्नु नै रोजगारीको ग्यारेन्टी होइन
इपिएस शाखाले भाषा परीक्षामा उत्तीर्ण हुनु मात्रै कोरियामा रोजगारी सुनिश्चित हुनु नभएको कुरामा विशेष जोड दिएको छ। भाषा परीक्षा केवल कोरियाली रोजगारदाताहरूको छनोट सूचीमा पर्नका लागि आवश्यक पहिलो योग्यता हो। परीक्षा उत्तीर्ण गरिसकेपछि पनि रोजगारदाताको छनोट प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
हेर्नुहोस् शाखाले प्रकाशित गरेको सूचना : सूचना




