काठमाडौं । फिटनेसलाई शिक्षा र जीवनशैलीको रूपमा स्थापित गर्ने लक्ष्यका साथ क्लासिक फिटनेस एकेडेमीले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी “फिटनेस एक्स्पो, २०८२” आयोजना गर्ने घोषणा गरेको छ। रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गते काठमाडौंको होटेल मल्लमा आयोजना हुने यस बृहत् कार्यक्रमले नेपाली फिटनेस उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
“नेपाल फिटनेस एक्स्पो, २०८२” लाई केवल एक प्रदर्शनी मात्र नभई फिटनेस क्षेत्रका व्यवसायी, प्रशिक्षक, खेलाडी र आम नागरिकका लागि एक साझा मञ्चको रूपमा विकास गर्ने आयोजकको उद्देश्य छ। क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीका अनुसार, यो एक्स्पो फिटनेससम्बन्धी व्यापारिक सम्बन्ध विस्तार गर्ने, नयाँ अवसरहरू सिर्जना गर्ने र नेपाली फिटनेस उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने एक महत्वपूर्ण कदम हो।
के-के छन् आकर्षण?
एकदिने एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। यसमा फिटनेस उपकरण, पोषण, खेलकुद पोशाक र अन्य सम्बन्धित सामग्रीहरू समावेश हुनेछन्।
कार्यक्रमको अर्को प्रमुख आकर्षण भनेको “फिटनेस अवार्ड शो” हो। यसअन्तर्गत राइजिङ एथलेटिक, बेस्ट एथलेटिक, बेस्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी चार प्रमुख विधामा सम्मान प्रदान गरिनेछ, जसले नेपाली फिटनेस क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको सहभागिता
एक्स्पोमा नेपालका चर्चित फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको विशेष उपस्थिति रहनेछ। साथै, भारत, मलेसिया लगायत अन्य एसियाली देशहरूबाट चर्चित फिटनेस सेलिब्रिटी तथा इन्फ्लुएन्सरहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टान जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप उचाई प्रदान गर्नेछ।
उनीहरूबाट फिटनेससम्बन्धी विशेष तालिम सत्रहरू सञ्चालन गरिनुका साथै विशेषज्ञहरूद्वारा निःशुल्क स्वास्थ्य परामर्श पनि उपलब्ध गराइने आयोजकले जनाएको छ। “यो केवल एक इभेन्ट होइन, यो एक आन्दोलन हो,” संस्थापक शाहीले भने, “हाम्रो लक्ष्य फिटनेसलाई जीवनशैलीको अभिन्न अंग बनाउँदै युवाहरूलाई सशक्त बनाउनु र नेपाललाई स्वस्थ र तन्दुरुस्त नागरिकहरूको देशको रूपमा स्थापित गर्नु हो।”




