काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल व्यवसायलाई पर्यटन क्षेत्रको ‘मेरुदण्ड’को संज्ञा दिँदै यसलाई पर्यटन प्रवर्द्धनको मूल आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले पर्यटकलाई दिइने सेवा र आतिथ्यताको गुणस्तरले नै नेपालको समग्र पर्यटनको भविष्य निर्धारण गर्ने बताए।
काठमाडौँमा शुक्रबार एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्यटकले नेपालबाट लैजाने अनुभवमा होटल व्यवसायीको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गरे। “भौतिक र अभौतिक दुवै किसिमको आतिथ्यतामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “जति धेरै मिहिनेतका साथ तपाईंहरूले सेवा दिनुहुन्छ, त्यति नै देशको पर्यटन क्षेत्रले उचाइ लिन्छ।”
नेपाली आतिथ्यताको शक्तिलाई उजागर गर्दै उनले भने, “विदेशबाट पर्यटकहरू हिमाल हेर्न भनेर आउँछन्, तर यहाँबाट फर्किँदा ‘नेपालीको मुस्कान हेरेर फर्कियौँ’ भन्छन्। यो हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।” एक पटक नेपाल आएको पर्यटकलाई बारम्बार फर्किने वातावरण बनाउनुपर्ने र त्यसको सुरुवात होटल व्यवसायीकै ढोकाबाट हुने उनको भनाइ थियो।
यसै क्रममा मन्त्री पाण्डेले पछिल्लो पुस्तामा देखिएको हतारमा धनी बन्ने सोच र धैर्यको कमीप्रति चिन्ता व्यक्त गरे। उनले व्यवसायमा सफल हुन संयमता र धैर्य अनिवार्य रहेको बताए। “अहिले हामी हतारमै पैसा कमाउने, चाँडै करियर बनाउने, सीमाना मिचेर अरबौँ कमाउने मनोवृत्तिमा छौँ,” उनले भने, “तर शिखर चढ्न तल्लो सिँढीबाटै पाइला चाल्नुपर्छ। एकै पटक शिखर चुम्ने सोचले विफल बनाउँछ।”




