काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई साउन १५ गते १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
यस स्वीकृतिसँगै बैंकले प्रति कित्ता रु. १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी हालको २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबाट बढेर ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ ।
बैंकले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ग्लोबल आइएमई क्यापिटलले हकप्रद निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउनेछ ।
पूँजी वृद्धिको यो योजनाले बैंकको वित्तीय अवस्थालाई थप सुदृढ बनाउने र भविष्यका व्यावसायिक विस्तारका लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ । विद्यमान शेयरधनीहरुले आफूसँग भएको शेयर संख्या बराबरकै हकप्रद शेयर खरिद गर्न पाउनेछन् ।
यसअघि बैंकको साधारण सभाले १:२ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरे तापनि नेपाल राष्ट्र बैंकले १:१ को अनुपातमा मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको थियो । सोही स्वीकृतिका आधारमा बैंकले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो ।




