काठमाडौं । नेपालले पहिलो पटक दक्षिण एसियाली युवा नेताहरूको एक ऐतिहासिक शिखर सम्मेलन आयोजना गर्ने भएको छ, जसले काठमाडौंलाई क्षेत्रीय युवा नेतृत्व र सहकार्यको केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नेपाल जेसिजको आयोजनामा यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म “साउथ एसियन एकेडेमी फर इन्टरनेशनल लिडरशिप (सेल नेपाल)” नामक कार्यक्रम हुन लागेको हो।
काठमाडौंको ठमेलस्थित प्रतिष्ठित अलफ्ट होटलमा आयोजना हुने यो चारदिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका उदीयमान युवा नेताहरूको सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य यी युवा नेताहरूबीच नेतृत्व क्षमता अभिवृद्धि गर्नु, क्षेत्रीय सहकार्यका लागि नयाँ अवसरहरू खोजी गर्नु र अन्तरसांस्कृतिक समझदारीलाई थप बलियो बनाउनु रहेको आयोजक नेपाल जेसिजले जनाएको छ।
के-के छन् कार्यक्रमका आकर्षण?
चार दिनसम्म चल्ने उक्त सम्मेलनमा नेतृत्व विकासका गहन सत्रहरू, उद्यमशीलता र नवीन परियोजना व्यवस्थापनसम्बन्धी व्यावहारिक कार्यशालाहरू सञ्चालन हुनेछन्। यसका साथै, सहभागीहरूबीच सांस्कृतिक आदानप्रदानका लागि विशेष कार्यक्रम राखिएको छ, जसले एकअर्काको संस्कृति र पहिचानको सम्मान गर्न प्रेरित गर्नेछ। सम्मेलनको एक महत्वपूर्ण हिस्साको रूपमा काठमाडौंका विश्व सम्पदा स्थलहरूको भ्रमण पनि समावेश गरिएको छ, जसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष सघाउ पुर्याउने विश्वास लिइएको छ।
ऐतिहासिक समझदारीको प्रतिफल
यो शिखर सम्मेलन मंगोलियामा सम्पन्न एक अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबीच भएको महत्वपूर्ण समझदारीको पहिलो ठोस प्रतिफल हो। उक्त समझदारीले दक्षिण एसियाली युवाहरूलाई एउटै मञ्चमा ल्याएर दीर्घकालीन सञ्जाल र साझेदारी निर्माण गर्ने मार्ग प्रशस्त गरेको थियो।
यस महत्वपूर्ण कार्यक्रमको नेतृत्व नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष (सन् २००१) तथा सिनेटर प्रज्ञा राज राजभण्डारीले कार्यक्रम निर्देशकको रूपमा गर्नेछन् भने कार्यक्रमको अध्यक्षता वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाले गर्नेछिन्।
सम्मेलनमा श्रीलंकाका लागि नेपाली महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा ‘जेसिज इन बिजनेश’ नामक एक विशेष सत्र पनि सञ्चालन हुनेछ। यो कार्यक्रमले दक्षिण एसियाली युवाहरूबीच केवल अल्पकालीन ज्ञान आदानप्रदान मात्र नभई दीर्घकालीन व्यावसायिक साझेदारीको समेत बलियो आधार तयार पार्ने अपेक्षा गरिएको छ।




