सिद्धार्थ बैंकको रु. १.५८ अर्बको अवकाश कोष अब सञ्चय कोषमा

काठमाडौं । देशको अग्रणी वाणिज्य बैंक, सिद्धार्थ बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको सञ्चय कोष व्यवस्थापनको जिम्मेवारी कर्मचारी सञ्चय कोषलाई हस्तान्तरण गर्दै एक महत्वपूर्ण सम्झौता गरेको छ। यस सम्झौतासँगै बैंकमा कार्यरत झन्डै दुई हजार कर्मचारी अब मुलुकको सबैभन्दा ठूलो अवकाश कोषको सामाजिक सुरक्षा सञ्जालमा जोडिएका छन्।

कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंकबीच मंगलबार भएको सम्झौता अनुसार, बैंकले आफ्ना कर्मचारीहरूको अवकाश कोषमा जम्मा भएको एक अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ कोषलाई हस्तान्तरण गरेको छ। साथै, चालू आर्थिक वर्षदेखि बैंकमा कार्यरत १,९५५ जना कर्मचारीको मासिक कोषकट्टी रकम अब नियमित रूपमा सञ्चय कोषमा जम्मा हुनेछ।

यो सम्झौता सरकारले आर्थिक ऐन, २०८२ मार्फत ल्याएको नयाँ नीतिगत व्यवस्थाको कार्यान्वयनको एक हिस्सा हो। उक्त ऐनले आन्तरिक राजस्व विभागबाट विगतमा स्वीकृति लिएर सञ्चालनमा रहेका निजी अवकाश कोषहरूलाई २०८३ असार मसान्तभित्र कर्मचारी सञ्चय कोषजस्ता ठूला र स्थापित कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम बढेको हो।

सम्झौतामा कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागरकुमार सिंह र बैंकको तर्फबाट नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरे।

कर्मचारीले के-के सुविधा पाउँछन्?

यो सम्झौतापछि सिद्धार्थ बैंकका कर्मचारीहरूले कोषमा आबद्ध लाखौं सञ्चयकर्ता सरह विभिन्न वित्तीय तथा सामाजिक सुरक्षा सुविधा पाउनेछन्।

  • सहुलियतपूर्ण कर्जा: निश्चित अवधि र प्रक्रिया पूरा गरी विशेष सापटी, घर सापटी, शैक्षिक कर्जा, घर मर्मत सापटी, जग्गा खरिद सापटीजस्ता सुविधाहरू सहुलियत ब्याजदरमा लिन सक्नेछन्।

  • स्वास्थ्य सुरक्षा: साधारण रोगको उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म र कडा रोग लागेमा सेवा अवधिभरमा १० लाख रुपैयाँसम्मको उपचार खर्च शोधभर्ना पाउनेछन्।

  • सामाजिक सुरक्षा: दुर्घटनामा परी अंगभंग वा मृत्यु भएमा २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति, काजकिरिया खर्चबापत ४० हजार रुपैयाँ र महिला कर्मचारीले सुत्केरी तथा शिशु स्याहारबापत प्रतिप्रसूति ७ हजार ५ सय रुपैयाँ (दुई पटकसम्म) पाउनेछन्।

हालसम्म कर्मचारी सञ्चय कोषमा ५९१ बैंक तथा वित्तीय संस्थाहरू सहित कुल ८१ हजारभन्दा बढी कार्यालयका करिब ५ लाख ७९ हजार सञ्चयकर्ता आबद्ध छन्। यसका साथै, कोषले योगदानमा आधारित निवृत्तिभरण कोषको समेत व्यवस्थापन गर्दै आएको छ, जसमा ९५ हजारभन्दा बढी योगदानकर्ताहरू रहेका छन्। सिद्धार्थ बैंकको यो आबद्धताले कोषको दायरालाई थप फराकिलो बनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री