काठमाडौं । एनएमबि बैंक लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । बैंक र प्रवर्द्धक कम्पनी मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच एकल कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको हो ।
आयोजनाको कुल लागत करिब ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने अनुमान गरिएकोमा बैंकको एकल लगानी र अन्य गरी कुल ४६ करोड २२ लाख २५ हजार रुपैयाँ रहनेछ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तुत आयोजना निर्धारित लागत र समयमै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् । उनले आयोजना निर्माणका क्रममा वित्तीय अनुशासन र पारदर्शिता कायम राख्दै तोकिएको समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा महत्वपूर्ण सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरे । उनले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत र समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अघि बढाइने जानकारी दिए ।
यो आयोजनाले वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको छ । प्रवर्द्धक कम्पनी मन्दाकिनी हाइड्रोपावरले एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिएको छ ।
एनएमबि बैंकले ऊर्जा क्षेत्रमा आफ्नो लगानीलाई निरन्तरता दिँदै आएको छ । बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘ वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका, २०२२’ को पूर्ण पालना गर्दै बैंकले आफ्नै ‘वातावरणीय तथा सामाजिक नीति’ (Environmental and Social Policy) बनाएको छ । सोही नीति बमोजिम आयोजनाको पर्यावरण संरक्षण तथा सामाजिक जोखिम व्यवस्थापनका लागि ‘वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली’ लागू गरी परियोजनाहरूको दिगोपना सुनिश्चित गर्दै आएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।



