३१औं विश्व आदिवासी दिवस ऐतिहासिक बन्दै, पहिलोपटक एफएओ र युनेस्कोको सहकार्य

काठमाडौं । यस वर्षको ३१औं विश्व आदिवासी दिवस संयुक्त राष्ट्रसंघीय निकायहरूको सहभागितामा ऐतिहासिक र बृहत् रूपमा मनाइने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन) ले पहिलो पटक फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालसँगको संयुक्त आयोजनामा आगामी श्रावण २२ गते (अगस्ट ७) काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा भव्य कार्यक्रम गर्ने भएको हो ।

सोमबार ललितपुरमा आयोजित एक बैठकले कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गर्दै तयारीलाई तीव्रता दिएको छ । कार्यक्रममा देशभरका करिब ५०० आदिवासी जनजाति प्रतिनिधि तथा १०० जना राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाका पाहुना गरी ६०० जनाको सहभागिता रहने अपेक्षा छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा २० भन्दा बढी जातजातिका झाँकी, सांस्कृतिक प्रस्तुति, नेवारी संस्कार र परिकारको प्रदर्शनी तथा थारु परिकारका स्टलहरू रहनेछन् । साथै, हालै गुगल ट्रान्सलेटमा समावेश भएको नेवारी भाषाको डिजिटाइजेसनबारे प्रस्तुति दिएर भाषिक अधिकार र प्रविधिमा पहुँचको सन्देश दिइने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले एफएओ र युनेस्कोसँगको सहकार्यले नेपालका आदिवासीहरूको पहिचान, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

“समावेशीतामार्फत आदिवासीको समृद्धि” भन्ने राष्ट्रिय सन्देश र “मातृभाषा, खाना र वातावरणका लागि आत्मनिर्णयको अधिकार” भन्ने अन्तर्राष्ट्रिय सन्देशसहित आयोजना हुन लागेको यो दिवस सांस्कृतिक उत्सवमा मात्र सीमित नभई आदिवासी पहिचान र अधिकारलाई अन्तर्राष्ट्रियकरण गर्ने महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री