मन्त्री पौडेलको स्वीकारोक्ति- स्वास्थ्य क्षेत्रमा पूर्ण सुधार हुन सकेन, राज्य पन्छिन मिल्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै यसको पूर्ण विकासका लागि राज्य पन्छिन नमिल्ने र थप लगानी अपरिहार्य रहेको बताएका छन् । वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केही प्रगति भए पनि आम नागरिकले सहज र सुलभ सेवा पाउने गरी पूर्वाधार र संस्थाहरूको पूर्ण विकास हुन नसकेको यथार्थलाई स्वीकार गर्नुपर्नेमा जोड दिए । “नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी छ,” उनले भने, “सुधार नभएको होइन, तर पूर्णता पाउन सकेको छैन । हाम्राबारेमा भइरहेका सार्वजनिक टिकाटिप्पणीप्रति हामी गम्भीर छौं ।”

संवैधानिक व्यवस्था र सरकारले पटक-पटक व्यक्त गरेका प्रतिबद्धताअनुसार नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनले स्मरण गराए । “आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई हामीले सम्बोधन गर्नैपर्छ,” मन्त्री पौडेलले भने, “स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो, जसबाट राज्य कुनै पनि बहानामा पन्छिन सक्दैन । यसको पूर्ण विकासका लागि हामीले लगानी बढाउनैपर्छ ।”

उनले अस्पतालहरूको सुधारका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य जनशक्ति उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको आश्वासन दिए । वीर अस्पतालजस्ता ऐतिहासिक संस्थाहरूको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन मन्त्रालयले विशेष ध्यान दिने उनको प्रतिवद्धता छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री