भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो

काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-१४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक दिन सुर्खेतमा फेला परेको हो ।

यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो । टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका-२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

गत मंगलबार साँझ आठबिसकोट नगरपालिका-१४ पीपलचौरस्थित भेरी कोरिडोर सडक खण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री