नेपाल उद्योग परिसंघमा नयाँ युगको सुरुवात: १९ समिति गठन, उद्योगदेखि स्टार्टअपसम्मलाई समेट्ने प्रयास

काठमाडौँ । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रको छाता संगठन, नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक विकासमा थप प्रभावकारी भूमिका खेल्ने उद्देश्यका साथ १९ वटा विभिन्न विषयगत समिति, काउन्सिल तथा फोरमहरु गठन गरेको छ। परिसंघले यी समितिहरूको नेतृत्वका लागि सभापति र उपसभापतिहरूको पनि चयन सम्पन्न गरेको छ, जसले आगामी दुई वर्षको लागि आफ्नो कार्यभार सम्हाल्नेछन्।

आइतबार परिसंघको सचिवालयमा आयोजित एक विशेष कार्यक्रममा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनियुक्त सभापति तथा उपसभापतिहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे। सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले नवनियुक्त समितिहरूले सरकार र नियामक निकायहरूलाई स्पष्ट नीतिगत सुझाव दिने, उद्यमीहरूको हकहितमा काम गर्ने र समग्रमा देशको आर्थिक विकासका लागि जिम्मेवारीपूर्वक योगदान पुर्‍याउनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, “यी समितिहरूको सक्रियता र सहकार्यमा परिसंघले आगामी दुई वर्षमा ठोस र प्रभावकारी काम गर्नेछ।”

क्षेत्रगत विज्ञता र समावेशी प्रतिनिधित्व

गठन गरिएका समितिहरूले उद्योग, राजस्व, पूर्वाधार, बैंकिङ, पर्यटन, कृषिदेखि सूचना प्रविधि र स्टार्टअप जस्ता विविध र महत्वपूर्ण क्षेत्रहरूलाई समेटेका छन्। यसले परिसंघको कामलाई थप विशिष्टीकृत र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

विभिन्न समितिहरूको नेतृत्वमा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई चयन गरिएको छ । जसअनुसार:

  • उद्योग समिति: सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी ।

  • राजस्व समिति: सभापतिमा गोपाल अग्रवाल तथा उपसभापतिमा दिपक कुमार अग्रवाल र शेषमणी दाहाल ।

  • मेक इन नेपाल स्वदेशी समिति: सभापतिमा प्राशी अग्रवाल र उपसभापतिमा विदूषी राणा ।

  • पूर्वाधार समिति: सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा बसन्त चन्द ।

  • बैंकिङ तथा फाइनान्स समिति: सभापतिमा वरुण कुमार तोदी ।

  • पर्यटन समिति: सभापतिमा पम्फा धमला तथा उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल ।

  • कृषि तथा म्याप समिति: सभापतिमा हितेश गोल्छा ।

  • ग्लोबल बिजनेस तथा डायस्पोरा समिति: सभापतिमा चन्द्र टण्डन र उपसभापतिमा वर्ण न्यौपाने ।

त्यसैगरी, रोजगारदाता परिषद्को सभापतिमा धु्रब रिजाल, उर्जा विकास परिषद्को सभापतिमा आशिष गर्ग, सूचना प्रविधि परिषद्को सभापतिमा सञ्जय गोल्छा र सीईओज् फोरमको सभापतिमा हरकिरत सिंह बेदी चयन भएका छन्।

महिला, युवा र स्टार्टअपलाई विशेष प्राथमिकता

परिसंघले यस पटक महिला नेतृत्व, युवा उद्यमी र स्टार्टअपहरूलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ। महिला नेतृत्व फोरमको सभापतिमा विदूषी राणा र उपसभापतिमा आश्रयता कार्कीलाई जिम्मेवारी दिइएको छ भने स्टार्टअप तथा युवा उद्यमी मञ्चको नेतृत्व अनुराग गोयलले गर्नेछन्। यसले नेपालको उद्यमशीलतामा नयाँ आयाम थप्ने र युवा शक्तिलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू रोहित गुप्ता, गोकुल भण्डारी, पदाधिकारी सदस्यहरू सन्दिप शारडा, प्राशी अग्रवाल, विदूषी राणा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री