काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा खसेको पहिरो र उर्लिएको बाढीले चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्, जसले गर्दा पूर्वी पहाडदेखि मध्य-पश्चिमसम्मको यातायात सञ्जाल अस्तव्यस्त बनेको छ। पहिरोका कारण चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग ठप्प छन् भने बाढीका कारण पूर्वी नेपालका दुई महत्त्वपूर्ण सडकखण्डमा यातायात रोकिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्गमा सडकमाथिबाट विशाल पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले गर्दा तातोपानी नाकासँगको सम्पर्क विच्छेद भएको छ र सयौं सवारी साधन तथा यात्रुहरू प्रभावित भएका छन्।
यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–३, दंखेरी भिरस्थित मध्यपहाडी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। माथिबाट लगातार झरिरहेको पहिरोका कारण सडक खुलाउने प्रयाससमेत चुनौतीपूर्ण बनेको छ।
यता, पूर्वी नेपालको पाँचथर जिल्लामा बाढीले दुई महत्त्वपूर्ण सडकखण्डलाई प्रभावित पारेको छ। मेची राजमार्गको पाँचथर खण्डमा पर्ने हेवा खोलामा आएको बाढीले त्यहाँ बनाइएको डाइभर्सनको सतह पार गरेपछि आइतबार मध्यरातदेखि नै यातायात ठप्प भएको छ।
त्यस्तै, तमोर करिडोरअन्तर्गत पाँचथर-धनकुटा खण्डको नावा खोलामा बाढी उर्लिएपछि सवारी साधन वारपार गर्न नसक्ने अवस्था सिर्जना भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार, ठूला सवारी चल्न नसके पनि खोलामा रहेको झोलुङ्गे पुल प्रयोग गरेर मोटरसाइकल भने जोखिमपूर्ण रूपमा ओहोरदोहोर गरिरहेका छन्।
सडक डिभिजन कार्यालय इलामले हेवा खोलामा पानीको सतह घट्नासाथ डाइभर्सन मर्मत गरेर यातायात सुचारु गर्ने प्रयास गरिने जनाएको छ। तर, लगातारको वर्षा नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ। राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र पर्नुका साथै अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।




