टिकटकमा बसेको मायाको दुःखद अन्त्य: ‘सुसाइड नोट’ले प्रेमिकालाई पुर्‍यायो हिरासतमा

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट सुरु भएको एक प्रेम सम्बन्धको कथाले अत्यन्तै दुःखद मोड लिएको छ, जहाँ एक युवकले आफ्नो ज्यान गुमाएका छन् भने उनकी प्रेमिका प्रहरी हिरासतमा पुगेकी छन् ।

टिकटकमा चर्चित ललितपुर, गोदावरीका रिनेश घिमिरेले सामाजिक सञ्जालमा ‘सुसाइड नोट’ लेख्दै आत्महत्या गरेपछि उनलाई सो निर्णय लिन बाध्य पारेको आरोपमा उनकी प्रेमिका रविना खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

गत असार ३१ गते, टिकटकमा ६६ हजार फलोअर्स कमाएका रिनेश आफ्नो घरमा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि उनले आफ्नो फेसबुकमा एक मार्मिक सन्देश पोष्ट गरेका थिए, जसले सिधै आफ्नी प्रेमिकालाई सम्बोधन गरेको देखिन्छ । उनले लेखेका थिए, ‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया, अलबिदा !’

यो नोटले घटनालाई प्रेम सम्बन्धसँग जोडेपछि प्रहरीको अनुसन्धान त्यसतर्फ केन्द्रित भयो । रिनेशको मृत्युको खबरलगत्तै उनकी प्रेमिका, दोलखाकी रविना खड्का (उर्फ सुप्रिया) आफैँ प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । तर, मृतकका परिवारले साउन ५ गते रिनेशको मृत्युको कारण रविना नै भएको भन्दै आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, हाल रविनालाई प्रहरी वृत्त, चापागाउँको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत, ललितपुरबाट दोस्रो पटक ५ दिनको म्याद थप गराएको छ ।

प्रहरी अनुसन्धानका अनुसार, रिनेश र रविनाको चिनजान करिब ६ महिनाअघि टिकटक मार्फत नै भएको थियो । त्यसको दुई महिनापछि उनीहरू गहिरो प्रेम सम्बन्धमा बाँधिएका थिए । रविना पनि आफैँमा एक टिकटकर हुन् र रिनेश काठमाडौँको सोह्रखुट्टेस्थित उनको डेरामा नियमित आउजाउ गर्ने गरेको खुलेको छ ।

प्रहरीसमक्ष रविनाले आफूले रिनेशलाई आर्थिक सहयोगसमेत गरेको दाबी गरेकी छन्, तर अनुसन्धान अधिकृतहरूले हालसम्म सो कुराको प्रमाण फेला नपरेको बताएका छन् । घटनाको गहिराइमा पुग्न प्रहरीले मृतक रिनेशको मोबाइल फोनलाई डिजिटल फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री