काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा पूर्वाग्रह र प्रतिशोधका आधारमा जेल हाल्ने प्रवृत्ति रहेको भन्दै को, कति बेला जेल पर्छ भन्न नसकिने टिप्पणी गरेका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग गरी निर्दोषलाई फसाउने कार्य विगतमा भएको र यस्ता प्रवृत्तिविरुद्ध लड्नुपरेको स्मरणसमेत गरेका हुन् ।
आइतबार बालुवाटारमा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१’ वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोधको ज्वलन्त उदाहरणका रूपमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाललाई प्रस्तुत गरे । दरबार हत्याकाण्डपछि शासन सत्ता आफ्नो हातमा लिएका ज्ञानेन्द्रले दलीय प्रतिबन्धको घोषणा नगरे पनि नेताहरूलाई छानीछानी जेल हालेको उनले बताए । ‘अस्ति मात्रै, दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरे,’ प्रधानमन्त्री ओलीले भने, ‘दलहरूमाथि प्रतिबन्ध नभने पनि नेताहरूलाई घरघरमा, जेलमा लगेर थुनियो । राज्यका निकायहरूलाई पन्छाएर आफ्ना मान्छेलाई मुद्दा लगाउन र फसाउन लगाइयो ।’
उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको मुद्दा लगाउन ज्ञानेन्द्रले गठन गरेको ‘शाही छानबिन आयोग’लाई एउटा ‘नाटक’को संज्ञा दिए । ‘नेताहरूलाई मुद्दा लगाउनकै लागि शाही छानबिन आयोग बनाइयो र भ्रष्टाचारविरोधी देखिएर शेरबहादुर देउवाविरुद्ध मुद्दा चलाइयो,’ ओलीले थपे, ‘योभन्दा ठूलो ड्रामा अर्को के हुन्छ ? यस्ता ड्रामाहरूसँग हामी अस्तिसम्म पनि लड्नुपरेकै हो ।’
देशमा विभिन्न ठूला भ्रष्टाचार काण्डहरूको अनुसन्धान चलिरहेको र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिइरहेको बेला प्रधानमन्त्री ओलीको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




