काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि थप सुविधा प्रदान गर्ने उद्देश्यले लिजा श्री इन्टरप्राइजेज प्रालिसँग साझेदारी गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। सो सम्झौताअनुसार बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुन मा सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता कार्यान्वयनमा आएपछि देशभरका प्रमुख सहरमा रहेका सो सैलुनका शाखाबाट सेवा लिँदा डिजिटल भुक्तानी गर्ने ग्राहकलाई छुट लागू हुनेछ। ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत वा मोबैंक एप प्रयोग गरी भुक्तानी गरेमा मात्र छुट सुविधा लिन सकिने बैंकले स्पष्ट पारेको छ।
छुट सुविधा प्राप्त गर्न सकिने शाखाहरूमा काठमाडौँको नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ्ग, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगञ्जको भाटभटेनी सुपरमार्केट, हेटौंडाको भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटको जोशी भवन तथा वीरगञ्जको रुङ्टा मल समावेश छन्।
एनआईसी एशिया बैंकले यो सहकार्यबाट ग्राहकहरूले आर्थिक फाइदासहित डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा राखेको जनाएको छ। बैंकले भविष्यमा यस्ता साझेदारीलाई अझ विस्तार गर्दै जाने योजना समेत सार्वजनिक गरेको छ।




