काठमाडौं । नेपाल र थाइल्यान्डबीचको सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा ‘थाई महोत्सव’ सुरु भएको छ । शुक्रबार आयोजित एक विशेष समारोहबीच परराष्ट्रमन्त्री आरजू राणा देउवाले महोत्सवको भव्य उद्घाटन गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाल र थाइल्यान्डबीचको ऐतिहासिक एवं बहुआयामिक सम्बन्धमाथि प्रकाश पार्नुभयो । उहाँले थाइल्यान्डले हासिल गरेको तीव्र विकासको प्रशंसा गर्दै यस्ता महोत्सवले दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “यस्ता सांस्कृतिक आदानप्रदानले कूटनीतिक सम्बन्धलाई जनस्तरसम्म पुऱ्याउँछ,” मन्त्री राणाले भन्नुभयो ।
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले महोत्सवले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले भाटभटेनीले विश्वका उत्कृष्ट उत्पादनहरू नेपाली उपभोक्तासम्म ल्याउने क्रममा यो महोत्सव एक महत्त्वपूर्ण कडी भएको उल्लेख गर्नुभयो ।
उद्घाटन समारोहमा नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नको विशेष उपस्थिति रहेको थियो । साथै, श्रीलंका, दक्षिण कोरिया र इजरायलका राजदूतलगायत विभिन्न देशका कूटनीतिज्ञहरूको बाक्लो उपस्थिति रहँदा कार्यक्रमले एक लघु कूटनीतिक जमघटको स्वरूप लिएको थियो । महोत्सवमा थाई खाद्य परिकार, लत्ताकपडा, हस्तकलाका सामग्री तथा अन्य उपभोग्य वस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।



