काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति एकपछि अर्को प्रतिनिधि बाहिरिँदा थप खुम्चिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को प्रतिनिधित्व गर्दै आउनुभएका नीलबहादुर सारु मगरले पद छाडेसँगै समितिमा सदस्य संख्या घटेको हो ।
आईक्यानका उपाध्यक्ष रहँदा बोर्ड सदस्य बन्नुभएका मगर हालै साउन २ गते अध्यक्षमा निर्वाचित भएका थिए । पदीय जिम्मेवारी परिवर्तन भएसँगै उहाँ बोर्डको सञ्चालक समितिबाट स्वतः बाहिरिएका हुन् । धितोपत्र बोर्डले अब आईक्यानबाट नयाँ प्रतिनिधि पठाइने जनाएको छ ।
यो सँगै बोर्डको सञ्चालक समिति सदस्य संख्या जम्मा चार जनामा सीमित हुन पुगेको छ, जसले महत्त्वपूर्ण नीतिगत निर्णय प्रक्रियामा समेत असर पार्न सक्ने देखिन्छ । यसअघि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट प्रतिनिधित्व गर्ने गोकर्ण अवस्थीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । महासंघले पनि हालसम्म आफ्नो नयाँ प्रतिनिधि पठाएको छैन । लगातार दुई महत्त्वपूर्ण संस्थाहरूको प्रतिनिधित्व नहुँदा बोर्डको सञ्चालक समिति कमजोर बनेको छ ।
हाल बोर्डमा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र विज्ञ सदस्यका रुपमा भोलानाथ ढुंगाना मात्र रहेका छन् ।




