काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै २१औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले साउन ६ गते विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्यो ।
वार्षिकोत्सवको दिन बैंकले आफ्नो केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो, जसमा बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता थियो । आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै बैंकले मेची प्रादेशिक अस्पताल, भद्रपुरका बिरामीहरू तथा नेपाल अपाङ्ग संघ, झापा शाखामा आश्रीत व्यक्तिहरूलाई फलफूल वितरण गर्यो । यसका साथै, बैंकका सबै शाखा कार्यालयहरूले ग्राहकहरूलाई चकलेट वितरण गरी उत्सव मनाएका थिए ।
स्थापनाको दुई दशक लामो यात्रामा बैंकले झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लामा गरी ४७ स्थानमा शाखा विस्तार गरिसकेको छ । अब कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
यस अवसरमा बैंकले स्थापनाकालदेखि हालसम्म साथ र सहयोग गर्ने सम्पूर्ण संस्थापक, सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




