काठमाडौंमा मासिक साहित्यिक जमघट ‘सांग्रिला संवाद’ सुरु हुँदै, पहिलो अंक कवितामा समर्पित

काठमाडौं । नेपाली साहित्य र कलामा विमर्शको नयाँ मञ्च तयार गर्दै सांग्रिला लिटरेचर फेस्टिबलले ‘सांग्रिला संवाद’ नामक मासिक साहित्यिक शृंखला आयोजना गर्ने भएको छ । पठन संस्कृतिलाई जीवन्त राख्ने र कला-साहित्यका विविध आयाममाथि गम्भीर बहस सिर्जना गर्ने उद्देश्यले यो संवाद शृंखला यही जुलाई महिनाबाट प्रारम्भ हुन लागेको हो ।

फेस्टिबलका निर्देशक केन सुवेदीका अनुसार, शृंखलाको पहिलो कार्यक्रम यही जुलाई २६ का दिन झम्सिखेलस्थित मोक्ष बार एन्ड रेस्टुरेन्टमा आयोजना हुनेछ । कविता विधामा केन्द्रित रहने यस उद्घाटन सत्रले कविताप्रेमीहरूका लागि एक अविस्मरणीय साहित्यिक सन्ध्याको वाचा गरेको छ ।

कार्यक्रमको प्रमुख आकर्षण वरिष्ठ कवि तुलसी दिवस र कवि रमेश क्षितिजबीचको विशेष संवाद रहनेछ । ‘अनुभव र अनुभूति’ शीर्षकमा हुने यस वार्तालापमा कवि दिवसको लामो साहित्यिक यात्रा, सिर्जनाप्रतिको समर्पण र नेपाली संस्कृति विकासमा कविताको भूमिकाजस्ता गहन विषयमाथि छलफल हुनेछ । यो संवादले दुई पुस्ताका कविहरूको दृष्टिकोणलाई एकै मञ्चमा प्रस्तुत गर्नेछ ।

संवाद सत्रपश्चात् एक विशेष कविता वाचन कार्यक्रम आयोजना गरिनेछ, जहाँ नेपाली कविताका वरिष्ठ तथा युवा पुस्ताका सशक्त हस्ताक्षरहरूले आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गर्नेछन् । उक्त काव्य जमघटमा कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गीता त्रिपाठी, ज्योति जंगल, विमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सविता गौतम दाहाल र दीपक सापकोटाको दमदार प्रस्तुति रहनेछ ।

वरिष्ठ कवि तुलसी दिवसबाट उद्घाटन हुने यस कार्यक्रमले अन्तरक्रिया, पुस्तक विमोचन र पठन-पाठनजस्ता गतिविधिलाई मासिक रूपमा निरन्तरता दिने लक्ष्य राखेको छ । आयोजकहरूका अनुसार, ‘सांग्रिला संवाद’ समग्र लेखन तथा पठन संस्कृतिको विकासका लागि एक महत्त्वपूर्ण पहल साबित हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री