काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवस्थित जानकी केवल इण्डस्ट्रीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत जानकी केवल इण्डस्ट्री सार्वजनिक कम्पनीमा रूपान्तरण भई सेयर निष्कासन प्रक्रियामा प्रवेश गर्न लागेको हो । दुई पक्षबीच सोमबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
एनआईसी एशिया क्यापिटलका अनुसार ‘आइडिया टु आईपीओ’ सेवा निजी क्षेत्रका कम्पनीहरुलाई संगठित गर्दै पुँजी बजारमा ल्याउन लक्षित एक विशेष परामर्श सेवा हो । यस सेवा अन्तर्गत कम्पनी स्थापनादेखि सार्वजनिक सेयर निष्कासनसम्मका सम्पूर्ण प्रक्रियामा परामर्श दिइन्छ । कम्पनीका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले अन्य इच्छुक कम्पनीहरुले पनि यो सेवा लिन सक्ने बताउनुभयो ।
पछिल्लो समय नेपालमा उत्पादनमूलक कम्पनीहरुले पनि आईपीओ निष्कासनमा चासो देखाउन थालेका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स जस्ता कम्पनीहरु आईपीओ निष्कासनको प्रक्रियामा छन् भने अन्य चार कम्पनी पाइपलाइनमा रहेका छन् । उत्पादनमूलक क्षेत्रको कम्पनी जानकी केवलले आईपीओ निष्कासन गर्ने निर्णयले यस क्षेत्रका अन्य कम्पनीलाई पनि पुँजी बजारमा प्रवेश गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादनमूलक क्षेत्रका ८ वटा कम्पनी मात्रै सूचीकृत छन् । जानकी केवलको प्रवेशले यो संख्या बढाउनुका साथै लगानीकर्ताले उत्पादनमूलक क्षेत्रमा लगानीको थप अवसर पाउनेछन् । ‘आइडिया टु आईपीओ’ जस्ता सेवाले निजी क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमार्फत आवश्यक पुँजी जुटाउन, व्यवसाय विस्तार गर्न र संस्थागत सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।




