काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूसँग मात्र निष्काशन गरेको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू, आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूको लागि निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्काशन बन्द साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।




