प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी- कुलिङ पिरियडमा नो कम्परमाइज, एकलौटी लाद्ने कुरा स्वीकार्य छैन

काठमाडौं । नेपाली काँग्रेसले संघीय निजामति विधेयकमा रहेको ‘कुलिङ पिरियड’को प्रावधानमा कुनै पनि सम्झौता नगर्ने अडान स्पष्ट पारेको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय समितिबाट सर्वसम्मतिले पारित भइसकेको विषयमा पार्टी पछि नहट्ने स्पष्ट पारेका हुन् । 

मंगलबार विपी स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले राज्य व्यवस्था समितिले सर्वसम्मतिले पारित गरेको दुई वर्षे कुलिङ पिरियडको प्रावधानलाई प्रतिनिधि सभाले हटाउनु गलत भएको बताए । हाल राष्ट्रिय सभामा विचाराधीन रहेको उक्त विधेयकमा नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव दर्ता गरेपछि काँग्रेसले आफ्नो अडान थप कडा बनाएको हो ।

प्रवक्ता महतले कुलिङ पिरियडको विषय मात्र नभई भूमि विधेयक लगायत अन्य महत्त्वपूर्ण विषयहरूमा पनि सरकारले एकलौटी रूपमा निर्णय लाद्न खोजेको आरोप लगाए । ‘कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा काँग्रेसले सम्झौता गर्न सक्दैन,’ उनले भने, ‘अन्य महत्त्वपूर्ण विधेयकहरूमा पनि समग्र छलफलबाट मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी लाद्ने कुरा स्वीकार्य हुँदैन ।’

उनले २०८४ सालसम्म निरन्तर जाने लक्ष्य लिएको गठबन्धन सरकार प्रभावकारी र सन्तुलित हुनुपर्नेमा जोड दिए । सरकारमा रहेका सहयात्री दलहरूको भूमिका, दृष्टिकोण र भावनाको सम्मान हुनुपर्ने बताउँदै उनले भने, ‘गठबन्धन भनिसकेपछि सबै सहयात्री दल, खासगरी नेपाली काँग्रेसको दृष्टिकोणलाई सम्मान गर्नुपर्छ । सन्तुलित किसिमबाट अघि बढ्नुपर्छ ।’

प्रवक्ता महतले विभिन्न निकायमा हुने नियुक्तिहरू व्यावसायिक र योग्यताका आधारमा हुनुपर्ने बताउँदै पार्टी र व्यक्तिप्रतिको वफादारीलाई मापदण्ड बनाउन नहुने स्पष्ट पारे । ‘हामी व्यावसायिक मान्छे आउन् भन्ने चाहन्छौँ, पार्टी र व्यक्तिप्रति बफादार मान्छे खोजिरहेका छैनौँ,’ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसप्रति प्रधानमन्त्रीले विशेष संवेदनशीलता देखाउन आवश्यक छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री