सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक ऐतिहासिक अध्यायको सुरुवात गर्दै दुई अग्रणी वालेटहरू, आईएमई पे र खल्ती, औपचारिक रूपमा एक आपसमा गाभिएका छन्। साउन १ गतेदेखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार शुभारम्भ गर्दै यी दुई कम्पनीले देशकै सबैभन्दा ठूलो र शक्तिशाली डिजिटल भुक्तानी प्लेटफर्मको आधारशिला राखेका छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा राजधानीको याक एन्ड यति होटलमा आयोजित एक भव्य समारोहबीच यो ऐतिहासिक एकीकरणको घोषणा गरिएको हो। झन्डै एक दशकदेखि फरक-फरक विशेषतासहित डिजिटल वित्तीय सेवामा आफ्नो प्रभुत्व जमाएका यी दुई कम्पनीको एकतालाई नेपालको वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको लागि एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा हेरिएको छ।

आ-आफ्ना विशेषता, अब एउटै छातामुनि

रेमिटेन्स भुक्तानी, सवारी साधनको भाडा भुक्तानी (इनड्राइभ) र बचतमा ब्याज प्रदान गर्ने एकमात्र वालेटको रूपमा पहिचान बनाएको आईएमई पे र युवा पुस्तामाझ मुभी टिकटिङ, इभेन्ट बुकिङ तथा नवीनतम प्रविधिका कारण लोकप्रिय खल्तीको यो संगमले अब प्रयोगकर्तालाई थप परिष्कृत, सहज र सुरक्षित सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

आईएमई ग्रुपद्वारा प्रवर्दित आईएमई पे र चार युवा उद्यमीद्वारा स्थापित भई पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता ठूला व्यावसायिक घरानाको लगानी भित्र्याएको खल्तीको यो एकीकरण पश्चात् नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को नाममा दर्ता भएको छ।

करोडौं प्रयोगकर्ता र अर्बौंको पुँजी

एकीकरणसँगै ‘खल्ती बाई आईएमई’ देशकै सबैभन्दा धेरै प्रयोगकर्ता भएको वालेट बनेको छ। खल्तीका ७० लाखभन्दा बढी र आईएमई पेका ५७ लाखभन्दा बढी प्रयोगकर्ता अब एउटै छातामुनि आउँदा कुल प्रयोगकर्ता संख्या १ करोड २७ लाख नाघेको छ। त्यसैगरी, ५४.५४ करोडभन्दा बढी चुक्ता पुँजीसहित यो कम्पनी पुँजीका हिसाबले पनि सबैभन्दा ठूलो डिजिटल वालेट बन्न सफल भएको छ।

साबिकका आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू सजिलै नयाँ एप ‘खल्ती बाई आईएमई’ मा सार्न सक्नेछन् भने खल्तीका प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गरेरै नयाँ अनुभव लिन सक्नेछन्।

डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने प्रतिबद्धता

समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले डिजिटल भुक्तानीले वित्तीय पारदर्शीता अभिवृद्धि गर्ने बताउँदै यस मर्जरले सबै नेपालीका लागि अझ सरल र सबल भुक्तानी प्रणाली निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आईएमई पेका अध्यक्ष कृष्ण प्रसाद शर्माले यस एकताले ‘डिजिटल नेपाल’को सम्भावनालाई नयाँ गति दिने बताउनुभयो भने खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यसलाई देशभर वित्तीय पहुँचको नयाँ युगको सुरुवातको रूपमा व्याख्या गर्नुभयो।

नयाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार गर्ने, वित्तीय साक्षरता बढाउने र सबैलाई समेट्ने योजनाहरूका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित यी दुई कम्पनीको एकीकरणले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने र वित्तीय समावेशीकरणमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री