काठमाडौं । दलित समुदायमा शैक्षिक र राजनीतिक चेतनाको दियो बाल्दै उनीहरूको अधिकार सुनिश्चितताका लागि जीवन समर्पित गरेका अग्रज नेता, पूर्वमन्त्री तथा प्राध्यापक मानबहादुर विश्वकर्मा ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट विभूषित भएका छन् । दलित मुक्ति आन्दोलनका प्रणेता भगत सर्वजित विश्वकर्माको सम्मानमा स्थापित यो prestigous पुरस्कार बुधबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रा. विश्वकर्मालाई हस्तान्तरण गरे ।
नेपाली समाजमा पछाडि पारिएको दलित समुदायको उत्थानका लागि प्रा. विश्वकर्माले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सरकारले उनलाई एक लाख नगद र ताम्रपत्रसहित यो सम्मान प्रदान गरेको हो ।
को हुन् प्रा. मानबहादुर विश्वकर्मा?
अर्घाखाँचीको सन्धिखर्कमा सन् १९४८ मा जन्मिएका विश्वकर्माको यात्रा एउटा सामान्य गाउँदेखि राष्ट्रिय राजनीतिको केन्द्रसम्म फैलिएको छ । गाउँमै प्रारम्भिक शिक्षा हासिल गरी भारतको राँची विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर (एमएस्सी) गरेका उनले वि.सं. २०३४ सालदेखि प्राध्यापन यात्रा थाले । अमृत साइन्स क्याम्पस (अस्कल) र काठमाडौं भ्याली क्याम्पस (काठमाडौं विश्वविद्यालय अन्तर्गत) मा लामो समय प्राध्यापन गरेका उनी ‘राष्ट्रिय शिक्षा पुरस्कार, २०४३’ बाट समेत सम्मानित हुन् ।
प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा प्रवेश गरेपछि उनको जीवन शिक्षा, राजनीति र सामाजिक रुपान्तरणको त्रिवेणी बन्यो ।
नीतिगत सुधारका कोशेढुंगा
प्रा. विश्वकर्माको योगदान केवल भाषण र आन्दोलनमा मात्र सीमित रहेन, बरु उनले राज्यको नीतिगत तहमा नै दूरगामी प्रभाव पार्ने कैयौं महत्वपूर्ण सुधारहरूको नेतृत्व गरे । उनका पहलमा भएका केही ऐतिहासिक निर्णयहरू आज दलित समुदायका लागि अवसरका ढोका बनेका छन्:
-
राजनीतिक समावेशिता: कुनै बेला नेपाली कांग्रेसको केन्द्रीय समितिमा दलित समुदायको आरक्षण शून्य थियो । खुला प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्य निर्वाचित भएपछि प्रा. विश्वकर्माकै निरन्तर पहलमा आज पार्टीमा एक सहमहामन्त्री र नौ जना केन्द्रीय सदस्य आरक्षणबाट आउने व्यवस्था सुनिश्चित भएको छ । पार्टीका हरेक तहमा दलित सहभागिताको जग बसाल्ने श्रेय उनलाई जान्छ ।
-
शिक्षामा क्रान्ति: उनको नेतृत्वमा दलित विद्यार्थीहरूका लागि उच्च शिक्षामा छात्रवृत्ति तथा एमबीबीएस र इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा आरक्षणको व्यवस्था गरियो । यसको परिणाम आज प्रष्ट देखिन्छ । वि.सं. २०५८ सालसम्म देशभर जम्मा दुई जना दलित एमबीबीएस डाक्टर रहेकोमा आज यो संख्या १५० नाघेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य मेडिकल कलेजहरूमा दलित विद्यार्थीका लागि आरक्षित सिट उनकै पहलको प्रतिफल हो ।
-
प्रशासनमा पहुँच: मन्त्री हुँदा उनले निजामती सेवामा दलित समुदायका लागि ९ प्रतिशत आरक्षणको नीति लागू गराए । यही नीतिका कारण आज सयौं दलित युवाहरू सरकारी सेवामा प्रवेश गरेका छन् र सहसचिव जस्ता माथिल्ला पदसम्म पुग्न सफल भएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन ‘नेपाल दलित संघ’ को संस्थापक सभापति, पार्टीको चार कार्यकालसम्म निर्वाचित केन्द्रीय सदस्य, संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्री जस्ता भूमिकामा रहेर उनले दलित समुदायको आवाजलाई सधैं बुलन्द पारे । ‘भेक्टर एनालाइसिस्’ जस्तो प्राज्ञिक पुस्तकदेखि ‘नेपाली कांग्रेस र दलित’ जस्तो राजनीतिक पुस्तकका लेखकसमेत रहेका विश्वकर्मा ज्ञान, राजनीति र सामाजिक न्यायका एक जीवन्त पाठशाला हुन् ।
राणाशासनविरुद्ध दलित जागरणको बिगुल फुक्ने भगत सर्वजितको नाममा स्थापित पुरस्कारबाट उनीजस्तै अर्का सारथिको सम्मान हुनुले पुरस्कारको गरिमालाई अझ उँचो बनाएको छ ।




