विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकारिता जगतमा नेपालको गरिमालाई उच्च बनाउँदै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् । अफ्रिकी मुलुक तान्जानियाको पर्यटकीय सहर आरुसामा जारी काउन्सिलको विश्व शिखर सम्मेलनबाट श्रेष्ठ आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मतिले उपाध्यक्ष चयन भएका हुन् ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठ यसअघि काउन्सिलको निवर्तमान महासचिव थिए। निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरिए पनि उनको नाममा सर्वसम्मति जुटेपछि नयाँ नेतृत्व घोषणा गरिएको हो।

विश्व मञ्चमा श्रेष्ठको उम्मेदवारीलाई विभिन्न देशका प्रतिनिधिहरूले समर्थन गरेका थिए। उनको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा रहेका थिए भने समर्थकमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र आयोजक राष्ट्र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए।

नयाँ कार्यसमितिमा को-को ?
काउन्सिलको नयाँ कार्यसमितिमा अध्यक्षमा केन्याका डेभिड ओम्ओयो र अर्का उपाध्यक्षमा साइप्रसका अली हान्सेर्ली निर्वाचित भएका छन्।त्यसैगरी, महासचिवको महत्त्वपूर्ण जिम्मेवारीमा तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा, कोषाध्यक्षमा टर्कीका तामेर अताबारुत तथा अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन्।

सोमबारदेखि सुरु भएको काउन्सिलको विश्व सम्मेलन बिहीबार समापन हुनेछ। सम्मेलनमा नेपालसहित विश्वका २७ राष्ट्रका पत्रकारिता क्षेत्रका अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस सम्मेलनले विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रता, पत्रकारिताको जवाफदेहिता र चुनौतीबारे छलफल गरी नयाँ मार्गनिर्देश तय गर्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री