विवादित मन्त्रीको बहिर्गमनपछि न्यौपानेद्वारा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी ग्रहण

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले)की नेतृ न्यौपानेलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यसअघि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका राजकुमार गुप्ता घुस लेनदेनको डिल गरेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका थिए। चौतर्फी आलोचना र दबाबपछि उनले पदबाट राजीनामा दिएका थिए । गुप्ताको राजीनामा स्वीकृत भएसँगै प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयको जिम्मेवारी न्यौपानेलाई सुम्पेका हुन् ।

नवनियुक्त मन्त्री न्यौपाने वि.सं. २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ । उनले छोटो कार्यकालका लागि मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री