बजेट र मौद्रिक नीतिमा सुधारको माग गर्दै मोरङ व्यापार संघ पूर्वगृहमन्त्री खाँणसमक्ष

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग-व्यवसाय क्षेत्रले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउन पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालै प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट र आगामी मौद्रिक नीति उद्योगमैत्री भए पनि त्यसमा थप सुधारको आवश्यकता औंल्याउँदै आफ्ना माग प्रस्तुत गरेको हो ।

बुधबार काठमाडौंमा भएको भेटमा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह नेतृत्वको प्रतिनिधिमण्डलले उद्योगीहरूले सामना गरिरहेका जल्दाबल्दा सवालहरूमा नेता खाँणको ध्यानाकर्षण गराएको थियो । प्रतिनिधिमण्डलले नीतिगत तहबाट व्यवसायीका समस्या सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेतामार्फत आफ्ना मागहरू सरकारसमक्ष पुर्‍याई नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्यले संघले यो पहल गरेको हो ।

ज्ञापनपत्रमा समेटिएका प्रमुख मागहरू:

संघले ज्ञापनपत्रमार्फत विशेषगरी पाँचवटा मुख्य विषयमा तत्काल सुधारको माग गरेको छ:

  • बीमा प्रिमियम: बीमा क्षेत्रमा रहेको अत्यधिक प्रिमियम दरलाई घटाएर व्यावहारिक बनाउनुपर्ने ।

  • निर्यात महसुल खारेजी: कवाडीजन्य फलामको धुलो र सिसाको टुक्राको निर्यातमा लगाइएको भन्सार महसुल पूर्ण रूपमा खारेज गर्नुपर्ने ।

  • भन्सार महसुल पुनरावलोकन: एमएस वायर रडमा बढाइएको भन्सार महसुलको निर्णयमा पुनर्विचार गर्नुपर्ने ।

  • मूल्य अभिवृद्धि कर (भ्याट) खारेजी: अति आवश्यक मानिने सुतिका कपडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने ।

  • विलासिता र भ्याट खारेजी: सुन तथा बहुमूल्य पत्थरजडित गरगहनामा लगाइएको २% विलासिता कर र १३% भ्याटको व्यवस्था हटाउनुपर्ने ।

भेटमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव सञ्जयकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्य तथा महिला उद्यम समिति सदस्यहरूको समेत सहभागिता थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री