काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना करिब ७ लाख सञ्चयकर्तालाई प्रत्यक्ष असर पर्ने गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्था अनुसार सञ्चयकर्ताले आफ्नो जम्मा रकममा वार्षिक ५ प्रतिशत ब्याज पाउनेछन् भने कोषबाट लिइने विभिन्न सापटीमा न्यूनतम ६.२५ प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
कोष सञ्चालक समितिको निर्णय अनुसार सञ्चय कोष र निवृत्तभरण कोष दुवैमा जम्मा भएको रकममा सञ्चयकर्तालाई वार्षिक ५ प्रतिशतका दरले ब्याज प्रदान गरिनेछ ।
यसैगरी, कोषले सञ्चयकर्तालाई उपलब्ध गराउँदै आएको सापटीको ब्याजदर पनि समायोजन गरेको छ । नयाँ दर अनुसार सबैभन्दा सस्तो मानिने विशेष सापटीमा ६.२५ प्रतिशत ब्याज लाग्नेछ । घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत ब्याजदर तोकिएको छ भने जग्गा खरिद तथा सरल सापटीमा सबैभन्दा बढी ७.५० प्रतिशत ब्याजदर कायम गरिएको कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नियमित ऋणीलाई प्रोत्साहन
कोषले नियमित किस्ता बुझाउने सञ्चयकर्तालाई प्रोत्साहन गर्न विशेष छुटको व्यवस्था समेत गरेको छ । विशेष सापटी बाहेक अन्य धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा भुक्तानी गर्ने ऋणीले ब्याजदरमा ०.२५ प्रतिशत छुट पाउनेछन् । यसले सञ्चयकर्तालाई समयमै किस्ता भुक्तानी गर्न प्रेरित गर्ने कोषको विश्वास छ ।
कुन सापटी कति पाइन्छ ?
कोषले सञ्चयकर्तालाई विभिन्न प्रयोजनका लागि आकर्षक सापटी सुविधा दिँदै आएको छ ।
-
घर निर्माण तथा खरिद: १ करोड रुपैयाँसम्म
-
घर मर्मत: ३० लाख रुपैयाँसम्म
-
उच्च शिक्षा: ४० लाख रुपैयाँसम्म
-
सरल सापटी: ६० लाख रुपैयाँसम्म
-
विशेष सापटी: खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म
लाखौं सञ्चयकर्ता लाभान्वित
कोषका सेवाहरू लाखौं सञ्चयकर्ताले उपयोग गरिरहेका छन् । गत आर्थिक वर्षमा मात्रै १ लाख ५८ हजारभन्दा बढीले विशेष सापटी, करिब ३ हजारले धितोमा आधारित सापटी र १ लाख १४ हजारभन्दा बढीले कोषबाट अन्तिम भुक्तानी लिएका छन् ।
हाल कोषमा निजामती, सेना, प्रहरी, शिक्षक तथा संगठित क्षेत्रका गरी ५ लाख ८० हजार सञ्चयकर्ता र ९९ हजारभन्दा बढी योगदानकर्तासहित कुल ६ लाख ७९ हजार ३९१ सदस्य आबद्ध छन् । कोषले काठमाडौं उपत्यकासहित सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।




