डेङ्गीको बढ्दो जोखिम: सरकारद्वारा ‘साउन सचेतना महिना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान

काठमाडौं । डेङ्गी सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’का रूपमा घोषणा गरेको छ । मनसुन सक्रिय भएसँगै तीव्र गतिमा फैलिन सक्ने डेङ्गीको सम्भावित महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनभरि विशेष अभियान सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यक्रमबीच उक्त घोषणा गर्दै डेङ्गीविरुद्धको लडाइँमा राष्ट्रिय एकता र सहकार्यको आह्वान गर्नुभयो । उहाँका अनुसार, साउनदेखि कात्तिकसम्म डेङ्गीको जोखिम सबैभन्दा बढी हुने भएकाले रोकथामका लागि हरेक शुक्रबार बिहान १० बजे १० मिनेट समय छुट्याएर ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियानलाई देशव्यापी रूपमा अघि बढाइनेछ ।

“साउन महिना डेङ्गी सङ्क्रमण सुरु हुने र उच्च विन्दुमा पुग्ने समय हो,” मन्त्री पौडेलले भन्नुभयो, “यो महिनामा हामीले सतर्कता अपनाउन सक्यौं भने सङ्क्रमणको भयावह रूपलाई रोक्न सक्छौं । त्यसैले सरकारको एकल प्रयासले मात्र नपुग्ने यो अभियानमा निजी क्षेत्र, समुदाय र प्रत्येक नागरिकको सक्रिय सहभागिता अनिवार्य छ ।”

स्वास्थ्य मन्त्रालयका अनुसार, गत वर्ष सञ्चालन गरिएको ‘खोज र नष्ट गर’ अभियानले सङ्क्रमण दर घटाउन प्रभावकारी भूमिका खेलेको थियो । सोही अनुभवका आधारमा यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको हो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले डेङ्गी पूर्ण रूपमा उन्मूलन गर्न नसकिने रोग भएकाले यसबाट बच्न जीवनशैलीमा परिवर्तन ल्याउनु नै उत्तम उपाय भएको बताउनुभयो । उहाँले विशेषगरी घर, कार्यालय र टोल वरपर पानी जम्न नदिन र सफा राख्न सबैलाई आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, यस वर्ष पुस १७ देखि असार ३१ गतेसम्म ७३ जिल्लामा १ हजार ९८३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भइसकेको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जोखिमयुक्त क्षेत्र पहिचान गरी रोकथामका उपाय अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

कसरी फैलिन्छ डेङ्गी?

‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । यी लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्छन् र त्यहीँबाट लार्भा हुँदै वयस्क लामखुट्टे बन्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार टायर, गमला, कुलर, खाली बट्टा र घरवरिपरि जम्मा भएको पानी नै यी लामखुट्टेका लागि प्रमुख प्रजनन स्थल हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) नेपालका प्रमुख डा. राजेश पाण्डवले डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र नभई खानेपानी, सहरी विकास, शिक्षा जस्ता बहुक्षेत्रीय समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री