-
नेपालको ऊर्जा क्षेत्रमा नयाँ युगको थालनी, कार्बन व्यापारबाट विदेशी मुद्रा आर्जनको ढोका खुल्यो
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रले एक ऐतिहासिक कोसेढुंगा पार गरेको छ । भोजपुरमा सञ्चालित टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड कार्बन व्यापारका लागि अन्तर्राष्ट्रिय बजारमा सूचीकृत हुने नेपालकै पहिलो जलविद्युत् आयोजना बन्न सफल भएको छ ।
यो उल्लेखनीय उपलब्धिसँगै कम्पनीले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (International Renewable Energy Certificate – I-REC) प्राप्त गरेको छ । यसले नेपालले अब जलविद्युत् उत्पादनबाट मात्र नभई, स्वच्छ ऊर्जा प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन कटौती गरेबापत अन्तर्राष्ट्रिय बजारबाट समेत विदेशी मुद्रा आर्जन गर्ने नयाँ अध्यायको सुरुवात गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो २३औं वार्षिक साधारणसभाको अवसरमा मंगलबार आयोजित एक विशेष समारोहमा यस ऐतिहासिक सफलताको उच्च सम्मानका साथ कदर गरेको छ । समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्पनीका पदाधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गर्दै राष्ट्रिय गौरवको यस क्षणका लागि बधाई दिनुभयो ।
के हो कार्बन व्यापार र यसको महत्त्व ?
कार्बन व्यापार एक वातावरणीय बजार संयन्त्र हो, जहाँ कार्बन उत्सर्जन घटाउने कम्पनी वा परियोजनाले ‘कार्बन क्रेडिट’ प्राप्त गर्छन् । यो क्रेडिट ती उद्योग वा देशहरूलाई बेच्न सकिन्छ, जसले आफ्नो निर्धारित कार्बन उत्सर्जनको सीमा नाघेका हुन्छन् । टक्सार पिखुवा जस्ता स्वच्छ ऊर्जा आयोजनाले जीवाश्म इन्धन (पेट्रोल, डिजेल, कोइला) को प्रयोगलाई विस्थापित गरी वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट रोक्छन् । यही योगदानको कदरस्वरूप अन्तर्राष्ट्रिय निकायले प्रमाणपत्र दिन्छ र यसको व्यापारबाट अतिरिक्त आम्दानी हुन्छ ।
यो सफलताले नेपालका अन्य जलविद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाहरूका लागि समेत नयाँ प्रेरणा र अवसरको ढोका खोलेको छ ।
अब राजस्व भित्रिने
अन्तर्राष्ट्रिय बजारमा सूचीकृत भएसँगै कम्पनीले अब निकट भविष्यमै कार्बन व्यापारबापतको राजस्व प्राप्त गर्ने प्रक्रिया सुरु गर्नेछ । यसबाट प्राप्त हुने रकमले कम्पनीको वित्तीय स्वास्थ्यलाई थप बलियो बनाउनुका साथै लगानीकर्ताहरूलाई समेत राम्रो प्रतिफल दिन मद्दत पुग्ने विश्वास गरिएको छ ।
भोजपुर जिल्लामा अवस्थित ८.५ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत् आयोजनाले २०७७ साल चैतदेखि नियमित रूपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्दै आएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालकै पहिलो कार्बन व्यापारमा सूचीकृत आयोजना बन्नु हाम्रो लागि गर्वको विषय हो । अब हामी स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्यका साथ अघि बढ्नेछौं ।”




