धनगढी । आगामी असोज १ र २ गते आयोजना हुने लगानी तथा विकास सम्मेलनको तयारीलाई तीव्र पारेको सुदूरपश्चिम प्रदेश सरकारले सफल अनुभवबाट सिक्न कोशी प्रदेशसँग सहकार्य गरेको छ । बुधबार एक भर्चुअल कार्यक्रममार्फत सुदूरपश्चिमले लगानी सम्मेलन आयोजनाको अनुभव, नीतिगत व्यवस्था र कानुनी प्रक्रियाबारे कोशी प्रदेशका विज्ञहरूसँग गहन अन्तर्क्रिया गरेको हो ।
प्रदेशमा लगानी भित्र्याएर आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्य राखेको सुदूरपश्चिम सरकारले सम्मेलनलाई परिणाममुखी बनाउन यस्तो पहल थालेको हो । कोशी प्रदेशले गत वैशाख १८ र १९ गते ‘कोशी प्रदेश लगानी सम्मेलन’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त सम्मेलनमा सार्वजनिक–निजी साझेदारी (PPP) तर्फका २७ परियोजनामा १ खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धतासहित समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो ।
भर्चुअल अन्तर्क्रियामा कोशी प्रदेशले सम्मेलनको तयारी, लगानीकर्ताको पहिचान, परियोजना छनोट, कानुनी सहजीकरण र सम्मेलनपछिको कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयमा आफ्ना अनुभव प्रस्तुत गरेको थियो । कोशी प्रदेशका तर्फबाट मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईं र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले प्रस्तुति दिँदै सुदूरपश्चिम सरकारलाई सुझाव प्रदान गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कोशी प्रदेशको सफल अभ्यास सुदूरपश्चिमका लागि प्रेरणादायी हुने बताए । उनले सम्मेलनलाई केवल औपचारिकतामा सीमित नराखी वास्तविक लगानी भित्र्याउने गरी तयारी अघि बढाइएको जानकारी दिए ।
अन्तर्क्रियामा सुदूरपश्चिम प्रदेशका विषयगत मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरू तथा लगानी तथा विकास सम्मेलन तयारी समिति एवं उपसमितिका संयोजक तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यो अनुभव आदानप्रदानले सुदूरपश्चिममा आयोजना हुने लगानी सम्मेलनलाई थप प्रभावकारी र सफल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।



