काठमाडौं । रसुवाको केरुङ नाका बाढीले अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पनि पहिरोका कारण ठप्प भएको छ । बिहीबार बिहानै भोटेकोशी गाउँपालिकामा खसेको भीषण पहिरोले राजमार्ग क्षतविक्षत बनाएपछि चीनसँग जोडिएका दुवै प्रमुख स्थलमार्ग एकैसाथ अवरुद्ध भएका छन् । पहिरोपछि चीनसँगको सडक सम्पर्क टुटेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार बिहीबार बिहान करिब ५ बजे भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित इकुमा सडकमाथिबाट पहिरो खसेको हो । पहिरोले राजमार्गको करीब ५० मिटर खण्ड पूर्ण रूपमा बगाएको छ । ‘पहिरोको प्रकृति जटिल छ। माथिबाट चट्टानसहितको लेदो खसेको छ भने तलबाट सडकको आधार नै भासिएको छ,’ एसपी कार्कीले भने, ‘तलबाट बलियो पर्खाल नलगाई सडक खुलाउन असम्भवप्रायः छ । हामीले सडक विभागसँग समन्वय गरिरहेका छौँ ।’
राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाका हुँदै काठमाडौँ भित्रिन लागेका मालवाहक कन्टेनरहरू भन्सार क्षेत्रमै रोकिएका छन् । त्यसैगरी, काठमाडौँबाट सीमातर्फ जाँदै गरेका र सीमाबाट राजधानी फर्कंदै गरेका यात्रुवाहक बस, निजी सवारीसाधन र एम्बुलेन्ससमेत बीच बाटोमै अलपत्र परेका छन् । यसले गर्दा तातोपानी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरू बिचल्लीमा परेका छन् ।
अस्तव्यस्त बनेको वैकल्पिक मार्ग
पहिरोले चीनसँगको स्थलमार्गबाट हुने आवतजावतमा गहिरो संकट उत्पन्न गरेको छ । बुधबार मात्रै चीनको केरुङ नाकाको पुल बाढीले बगाएपछि त्यहाँ फसेका १२६ जना विदेशी पर्यटकलाई यही कोदारी नाका हुँदै नेपाल प्रवेश गराइएको थियो । तीमध्ये ७२ जनालाई हेलिकप्टर र ६४ जनालाई बसमार्फत काठमाडौँ पठाइएको थियो ।
एक नाका बन्द भएपछि वैकल्पिक रूपमा प्रयोग गरिएको अर्को नाकाको मुख्य राजमार्ग पनि भोलिपल्टै अवरुद्ध हुँदा चीनसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको हो । यसले एकातिर अत्यावश्यक सामग्री बोकेका कन्टेनरहरू अनिश्चितकालका लागि रोकिएका छन् भने अर्कोतिर पर्यटकहरूको आवागमनमा समेत गम्भीर असर परेको छ ।




