जैमिनीमा बाढीको वितण्डा: एक अर्बभन्दा बढीको क्षति, जलविद्युत् आयोजना र पुल बगायो

बागलुङ । अविरल वर्षापछिको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा अकल्पनीय क्षति पुर्‍याएको छ। मङ्गलबार राति स्थानीय कालुङखोलामा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना, पक्की पुल, सयौँ रोपनी खेतीयोग्य जमिन र अन्य भौतिक संरचना बगाउँदा करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याएपछि १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन्।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार बाढीले कालुङखोला जलविद्युत् आयोजनालाई पूर्ण रूपमा बगाएको छ, जसबाट मात्रै करिब दुई करोड रुपैयाँको क्षति भएको छ। आयोजना ध्वस्त हुँदा पैयुँथन्थापका बासिन्दाको दैनिकी कष्टकर बनेको छ। बाढीले रु ३५ लाखको लागतमा भर्खरै निर्माण सम्पन्न भएको पुललाई समेत बगाएको छ। केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेपछि विद्युत् सेवा पुनःसञ्चालन गर्न लामो समय लाग्ने देखिएको छ।

बाढीले पुर्‍याएको सबैभन्दा ठूलो र दीर्घकालीन क्षति भने खेतीयोग्य जमिनमा भएको छ। उपप्रमुख शर्माले भने, “वार्षिक आठ सयदेखि एक हजार मुरीसम्म धान फल्ने उर्वर खेत अहिले बगरमा परिणत भएको छ। किसानको वर्षभरिको आम्दानीको स्रोत खोसिएको छ।” यसका साथै, त्यस क्षेत्रका १० वटा सिँचाइ कुलोमा क्षति पुगेपछि भविष्यमा खेतीपाती गर्नसमेत कठिन हुने अवस्था सिर्जना भएको छ।

बाढी र पहिरोका कारण मानवीय बस्ती पनि उच्च जोखिममा परेको छ। स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा छन्। त्यसैगरी, ठेउलेका अन्य पाँच घर पनि जोखिममा परेका छन्। टेकबहादुर थापा र खड्कबहादुर थापाको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने टेकबहादुरको एक गोरु पनि मरेको छ।

बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने मुख्य सडक अवरुद्ध बनाएको छ, जसले गर्दा यातायात र आवतजावत ठप्प भएको छ।

उपप्रमुख शर्माले क्षतिको प्रारम्भिक मूल्याङ्कन सार्वजनिक गर्दै भने, “जलविद्युत्, पुल, सडक, खेतीयोग्य जमिन, सिँचाइ कुलो र व्यक्तिगत सम्पत्ति गरी समग्रमा करिब एक अर्ब चार करोडको क्षति भएको हाम्रो अनुमान छ। यो विपत्तिले जैमिनीलाई ठूलो सङ्कटमा पारेको छ।” क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने र पीडितलाई राहत तथा पुनर्स्थापनाका लागि पहल सुरु गरिएको नगरपालिकाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री