काठमाडौं । अपहरणमा परेको आशंकासहित गाउँपालिका अध्यक्षले विज्ञप्तिमार्फत खोजीका लागि सार्वजनिक अपिल गरेका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी गुल्मीमा सम्पर्कमा आएका छन् । यो नाटकीय घटनाले बुधबार र बिहीबार सामाजिक सञ्जालमा ठूलो तरंग सिर्जना गरेको थियो ।
आर्थिक वर्षको अन्त्यमा भुक्तानीको चापका बीच कार्यालयको कामले रुकुम पूर्व हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितको टोली २४ घण्टाभन्दा बढी समय सम्पर्कविहीन भएपछि गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले उनीहरूको अपहरण भएको हुनसक्ने भन्दै बुधबार एक आपतकालीन विज्ञप्ति जारी गरेका थिए । तर, बिहीबार बिहानै अध्यक्ष बुढा मगरले सबै कर्मचारी सकुशल रहेको र गुल्मीमा फेला परेको पुष्टि गरेका छन् । ‘आज बिहान ७:०५ बजे प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा भयो,’ अध्यक्ष बुढा मगरले भने, ‘उहाँहरू सकुशल हुनुहुन्छ र आजै लिवाङ हुँदै थवाङ फर्किने जानकारी दिनुभएको छ ।’
कसरी सुरु भयो घटना ?
गाउँपालिका अध्यक्षका अनुसार, असार मसान्तको भुक्तानी सहजीकरण गर्न ‘ओटीपी कोड’को समस्याले गर्दा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरको टोली असार २३ गते रुकुम पूर्व जाने निर्णयमा पुगेको थियो । थवाङमा नेपाल टेलिकमको नेटवर्कमा प्रायः समस्या रहिरहने हुँदा सहज ठाउँमा गएर काम गर्ने उनीहरूको योजना थियो ।
तर, असार २४ गते बिहान ७ बजेदेखि प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सातै जना कर्मचारीको मोबाइल एकैसाथ स्विच अफ भयो । पटक-पटकको प्रयासमा पनि सम्पर्क हुन नसकेपछि अत्तालिएका अध्यक्ष बुढा मगरले कर्मचारीहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको आशंका गरे । ‘सबैको मोबाइल एकैपटक बन्द भएपछि केही अप्रिय घटना भयो कि, अपहरणमा पर्नुभयो कि भन्ने चिन्ताले मलाई सतायो,’ उनले भने, ‘त्यसैले तत्काल खोजीका लागि सबैको ध्यानाकर्षण गराउन सूचना जारी गरेको हुँ ।’
गुल्मी यात्राको रहस्य कायम !
कर्मचारीहरू सकुशल भेटिए पनि उनीहरू रुकुम पूर्व जानुपर्नेमा गुल्मी किन र कसरी पुगे भन्ने रहस्य भने अझै खुलेको छैन । अध्यक्ष बुढा मगरले पनि यस विषयमा अनभिज्ञता प्रकट गरे । ‘प्रमुख प्रशासकीय अधिकृतको घर रोल्पा नै हो, गुल्मी उहाँ किन जानुभयो भन्नेबारे स्पष्ट भएको छैन,’ उनले भने, ‘उहाँहरू फर्केर आएपछि नै यसबारे विस्तृत जानकारी आउला ।’
सम्पर्कविहीन हुनेहरूमा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सहायक प्रशासन पाँचौँ हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कडेल, सब-इन्जिनियर निशा आचार्य, सब-इन्जिनियर चन्द्र प्रकाश ओली र अन्य कर्मचारी शिव कुमार वली तथा प्रदीप केसी रहेका थिए ।




