काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । संघीय संरचना अनुसारको विधान मस्यौदा शनिबार बैठकमा पेस भएको हो । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ । महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले आइतबार पारित गर्ने तयारी छ । मंसिर २९ मा उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ ।
कांग्रेसको विधान संशोधनका विषयमा महासमिति बैठकमा सदस्यहरूबाट धेरै विषय उठाइए पनि ती विषयमा बैठकमा गम्भीर छलफल नहुने भएको छ । केन्द्रीय कार्यसमितिले पारित गरे अनुसार नै महासमिति बैठकबाट आज पारित गर्ने तयारी छ ।
बैठकको आठौँ दिनमा मात्रै पार्टीको विधान मस्यौदा प्रस्तुत भएकाले अन्य विषयमाथि छलफल नभ्याइने भएको हो । सामान्य छलफल गराएर आइतबार बिहान बैठक सम्पन्न गर्ने तयारीमा नेताहरू पुगेका हुन् । ढिलो गरी विधान मस्यौदा बैठकमा पेस भएको र सामान्य छलफलबाट पारित गर्ने तयारीमा नेताहरु पुगेपछि ५० प्रतिशतभन्दा बढी महासमिति सदस्यहरु घर फर्किसकेका छन् ।
प्रतिकृया दिनुहॊस