शिकार खेल्न चारकोशे जंगल छिरेकाहरू कार र राइफल छाडेर फरार

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित अमाहा जंगलबाट प्रहरीले एउटा कार र एक थान अत्याधुनिक राइफल बरामद गरेको छ । आइतबार मध्यराति जंगली जनावर शिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार सिकारको उद्देश्यले रातको समयमा जंगल पसेका पाँच जना फरार छन् । प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो ।

गस्ती टोलीलाई देख्ने बित्तिकै कार चालकसहित सबै जना भागेका थिए । डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरारहरुको पहिचान भइसकेको छ । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। बरामद गरिएको कार र हतियार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री