टेक एन्ड पे व्यवस्था संशोधन हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्काले ‘टेक एन्ड पे’ विद्युत् खरिद प्रणालीमा संशोधन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले जेठ २७ गते नै अर्थ मन्त्रालयलाई संशोधनका लागि पत्र पठाइसकेको बताए । मन्त्री खड्काका अनुसार साना जलविद्युत् आयोजना तथा विद्युत् खपत र निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनामा भने ‘टेक अर पे’ प्रणाली नै उपयुक्त हुने देखिएकाले ती आयोजनामा त्यसैअनुसार सम्झौता कायम गरिने प्रस्ताव गरिएको हो ।

उनले यस विषयमा नेपाल विद्युत् प्राधिकरणको राय र सुझावका आधारमा निर्णय गरिएको भन्दै अर्थमन्त्रीसँग पर्याप्त छलफल भइसकेको उल्लेख गरे। संशोधन चाँडै आउने विश्वास व्यक्त गर्दै उनले यस प्रणालीमा सुधारका लागि ऊर्जा मन्त्रालय सक्रिय रहेको बताए ।

मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता सम्बन्धमा कुनै भ्रम नरहने गरी कानुनी र प्रक्रियागत ढंगबाट संकलन गरिने स्पष्ट पा रे। यसमा सरकारले निश्चित प्रक्रिया अवलम्बन गर्दै अगाडि बढ्ने उनले बताए ।

लोडसेडिङ अन्त्य कसरी सम्भव भयो भन्ने प्रश्नमा उनले नेपाल र भारतबीचको विद्युत् आदान–प्रदान प्रणालीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार बर्खायाममा नेपालले भारतलाई विद्युत् निर्यात गर्छ भने हिउँदमा आवश्यकताअनुसार आयात गरिन्छ । यस्तो परस्पर सहयोगले विद्युत् आपूर्ति सुनिश्चित भई लोडसेडिङ अन्त्य गर्न सम्भव भएको हो । उनले यो कुनै एक व्यक्तिको प्रयासबाट सम्भव भएको नभई प्रणालीगत आदान–प्रदानकै परिणाम रहेको प्रस्ट पारे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री