६१ किलो सुन प्रकरण : धरौटीमा छुटे पनि माओवादी नेतृ अमला पुनः पक्राउ

काठमाडौं । काठमाडौंकी अमला रोका ६१ किलो सुन तस्करी प्रकरणमा फेरि प्रहरी नियन्त्रणमा परेकी छन् । जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी पुनः पक्राउ परेकी हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रोकालाई सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिइएको हो । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले सम्पत्ति शुद्धिकरण विभागबाट पत्र प्राप्त भएपछि अनुसन्धानका लागि उनलाई पुनः नियन्त्रणमा लिइएको पुष्टि गरे ।

अमला रोका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्, जो यसै सुन तस्करी प्रकरणमा संलग्न अभियुक्त हुन्। रोका दर्ताधर्ता रहेको ठमेलस्थित होटल भियना पनि अनुसन्धानको दायरामा परेको छ ।

गत शुक्रबार सीआईबीले रोकालाई टोखाबाट पक्राउ गरेको थियो । उनमाथि इन्टरपोलको डिफ्यूजन नोटिससमेत जारी गरिएको छ। यसअघि अदालतले सर्तसहित धरौटीमा छाड्न आदेश दिएको भए पनि अन्य निकायमा पनि अनुसन्धान चलिरहेको जनाउँदै प्रहरीले उनलाई पुनः थुनामा राखेको हो । प्रहरीका अनुसार उनीमाथिको अनुसन्धान अझै जारी छ, र आवश्यक प्रक्रिया पुरा नगरी रिहा गर्न नसकिने अवस्था रहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री