काठमाडौँ । लामो समयदेखि जारी राजनीतिक गतिरोध र संवादहीनता तोड्ने प्रयास स्वरूप देशका प्रमुख तीन दलका शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल गर्दैछन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसहितको बैठक आयोजना गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २:०० बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछ । यसअघि प्रमुख ३ दलको बैठक बुधबार र बिहीबार बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन ।
दलहरूबीच बढ्दो दूरी र राष्ट्रिय मुद्दाहरूमा देखिएको अविश्वासका बीच हुन लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर गम्भीर छलफल हुनेछ ।




