सांसद चन्द्र भण्डारीको प्रश्न- ‘लाश लैजान मान्छे नभएको देशमा बजेट केका लागि ?’

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले युवाविहीन हुँदै गएको मुलुकको कहालीलाग्दो यथार्थप्रति संसदमै गर्जिएका छन् । बिहीबार बसेको संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको भविष्य अन्धकारतर्फ धकेलिइरहेको भन्दै नेतृत्वको कार्यशैली र चिन्तनमाथि गम्भीर प्रश्न उठाए ।

डा. भण्डारीले आफ्नो मन्तव्यमा देशको सबैभन्दा ठूलो संकट युवा पलायन भएको बताउँदै सरकार र राजनीतिक दलहरूलाई मार्मिक प्रश्न गरे, ‘हामी युवाविहीन हुँदैछौं । सहर र गाउँमा जाँदा युवा छैनन्, केवल बाउआमा मात्रै हुनुहुन्छ । कतै मृत्यु भयो भने लाश लैजाने मान्छे छैन । यस्तो युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?’

उनले आशा र भविष्यको खोजीमा विदेशिएका युवाहरूले त्यहाँ पनि सुख नपाएको यथार्थ प्रस्तुत गरे । ‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला भन्ने आशाले बाँचेका छौं। तर हाम्रा युवाहरू शिक्षा, रोजगारी र दलालीका नाममा बाहिर गइरहेका छन् । त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएका छन्,’ उनले भने ।

सांसद भण्डारीले देशको नेतृत्वको कमजोरीमाथि पनि कडा टिप्पणी गरे । उनले नीति निर्माण तहमा बस्ने नेताहरू सामान्य कर्मचारीको धम्कीबाटै ‘थरथर काम्ने’ गरेको भन्दै यस्तो कमजोर नेतृत्वले देश बनाउन नसक्ने ठोकुवा गरे । ‘कोही कर्मचारी आएर ‘यो विधेयकमा यो कुरा लेख्नुस् नत्र हामी राजीनामा दिन्छौं’ भन्दै थर्काउँछ, देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भने, ‘यसरी कसरी देश बन्छ ?’

नेताहरूको भाषण-संस्कृतिप्रति व्यङ्ग्य गर्दै उनले खोक्रो भाषणले जनताका समस्या समाधान नहुने बताए । ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?’

उनका यी प्रश्नले सदनलाई गम्भीर बनाएको थियो । आफ्नो निराशा व्यक्त गर्दै उनले भने, ‘मैले त यो देश र देशको नेतृत्वलाई बुझ्नै सकिनँ ।’ उनले नेपालका नेताहरूमा दूरदृष्टि र सामूहिक भावनाको खडेरी परेको आरोप लगाए।  ‘अरू जहाँसुकै जाऊन्, आफू मात्रै बन्नुपर्छ भन्ने प्रवृत्ति हाबी भयो । हामीकहाँ दृष्टिकोण र चिन्तन नै पुगेन,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री