प्रतिपक्षमा भए पनि सत्तापक्षजस्तो देखिनु हाम्रो बाध्यता : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल प्रतिपक्षमा रहे पनि संविधान र कानुनी प्रणालीको रक्षाका लागि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने अनौठो बाध्यता आइपरेको बताएका छन् । लामो समयको संसद् अवरोधपछि सरकारसँग सहमति गरेर पछि हटेको भन्दै पार्टीभित्रै आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रले १७ दिनसम्म प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो । तर, सरकारको नेतृत्वकर्ता दल एमालेसँग दुई बुँदे सहमति गरेपछि माओवादीले अवरोध फिर्ता लिएको थियो, जसले गर्दा पार्टीका केही नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

मंगलबार बिहान चितवनस्थित आफ्नो निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद् अवरोध खोल्नुको कारणबारे विस्तृतमा बताए । ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ,’ उनले भने । बजेटजस्तो महत्त्वपूर्ण विषयमाथिको छलफल रोक्न नहुने भएकाले आफूहरूले जिम्मेवारपूर्ण कदम चालेको उनको तर्क थियो ।

संसद् खुलाउन गरिएको दुई बुँदे सहमतिलाई कतिपयले परम्परागत राजनीतिक चस्माले हेरेर आलोचना गर्न सक्ने स्वीकार्दै उनले यसलाई माओवादीको गम्भीरता र जिम्मेवारीबोधका रूपमा बुझ्न आग्रह गरे । ‘यदि तपाईंहरूले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भीर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरूले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होला ? भन्न पनि सकिन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री